नेपाल संवत्को आन्दोलन र मुद्दा



श्रीकृष्ण महर्जन

नेपाल संवत् आफैंमा राष्ट्रियतासंँग जोडिएको, मौलिकतासँंग गाँसिएको र जनजीवना प्रयोग हँुदै आएको महत्वपूर्ण पक्ष हो । चन्द्र शमशेरले नेपाल संवत्को स्थानमा विक्रम संवत्् सकारी कामकाजमा प्रयोग गरेपछि विशेष गरी नेवाः समुदायले आफूहरुलाई राज्यले विभेद गरेको, दमन गरेको महसुस गर्दै आएका थिए । राणाकालदेखि पञ्चायत कालमा पनि भाषिक, सांस्कृतिक, जातीयदेखि धार्मिकरूपमा पनि विभेद गर्दै आएको नेवाः समुदायले अनुभूति गर्दै आएको विषय हो । त्यसैले नेपाल संवत्लाई राष्ट्रिय सम्वत्का रूपमा मान्यता दिन लगाउनेदेखि नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्न लगाउने र नेपाल संवत्लाई राज्यले प्रयोगमा ल्याउनुपर्ने मुद्दाका साथसाथै योे आन्दोलन भाषिक, सांस्कृतिक, धार्मिक उत्पीडनविरुद्धको आवाज बुलन्द गर्ने माध्यमका रूपमा विकास भएको थियो ।

नेपाल संवत्को ‘न्हूदँया भिंतुना’ आन्दोलनसँग जोडिएका मुद्दाहरु विगतको तुलनामा अहिले फरकरूपमा आइरहेको देखिन्छ । नेपाल संवत्को आन्दोलन विगतमा पञ्चायत व्यवस्थाका विरुद्ध आवाज बुलन्द गर्ने, तत्कालीन अवस्थामा प्रतिबन्धित राजनीतिक दलका नेताहरुले सांस्कृतिक कार्यक्रममा पनि जनताका अधिकारका सवाललाई सार्वजनिकरूपमा अभिव्यक्ति दिने माध्यम थियो । पञ्चायत व्यवस्थाको नीतिलाई प्रतिरोध गर्ने जनताको सशक्त माध्यम नै न्हूदँया आन्दोलन बनेको थियो । त्यसैले तत्कालीन अवस्थामा राजनीतिक दलका नेता कार्यकर्तादेखि, भाषिक, सांस्कृतिदेखि धार्मिक आवाज बुलन्द गर्नका लागि पनि भिन्तुना आन्दोलनलाई माध्यम बनाएको थियो ।

नेपाल संवत् आन्दोलनको इतिहास
नेपाल संवत्को आन्दोलनका प्रणेता पद्मरत्न तुलाधर हुन् । जसको नेतृत्वमा नेपालभाषा मंकाः खलःको माध्यमबाट नेपाल संवत्को आन्दोलन सडकमा आएको र त्यो आन्दोलनलाई व्यापकता दिन सफल भएको हो । नेपाल संवत्को सडक आन्दोलन गर्दै अधिकारका कुरा सार्वजनिकरूपमा अभिव्यक्ति दिने काम पद्मरत्न तुलाधरको नेतृत्वमा भिंतुना आन्दोलन आजभन्दा ४१ वर्ष अघिदेखि शुरु भएको थियो । नेपालभाषा मंकाः खलःको आयोजनामा हुने पञ्चायत कालमा प्रत्येक नेपाल संवत्का कार्यक्रममा अहिलेका करिब ८० प्रतिशतभन्दा बढी नेताहरु सहभागी हुने र आफ्ना कुरा जनतामा राख्नै गर्दै आएका थिए ।

त्यसभन्दा पहिला नेपाल संवत्को उपलक्ष्यमा शुभकामना दिने कार्यक्रम भने २०१०÷११ मा च्वसा पासा संस्थाले गरेको थियो । त्यसपछि कोना टोलका पासा पुचले साइकल ¥याली आयोजना गरेको थियो भने मंकाः ग्वसाःको नामबाट नेपाल संवत् १०९७ देखि विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै नयाँ वर्षको शुभकामना दिने काम गरेको थियो ।

त्यसै गरी लयता दबूले नेपाल संवत् १०९९ देखि नै मोटरसाइकल ¥याली आयोजना गरेको थियो भने पछि मोटरसाइकल ¥याली उपत्यकाबाहिर समेत पुगेको थियो । उपत्यकाबाहिर पनि मोटरसाइकल ¥याली पुगेपछि नेपाल संवत्को न्हूदँया भिंतुना आन्दोलन हेटौंडा, वीरगन्ज, नायारणघाट, धरान, दोलखा हँुदै देशका विभिन्न स्थानमा पुगे । त्यसैको फलस्वरूप उपत्यकाबाहिर पनि नेवाः समुदायले नेपाल संवत्को नयाँ वर्षको क्रममा विभिन्न कार्यक्रम गर्न थाले । भौगोलिकरूपमा विभिन्न स्थानमा रहेका कारण भएको क्षेत्रीयतावादलाई समेत एकीकृत गर्दै नेवाः भन्ने भावना जागृत गरेको नेपाल संवत्को आन्दोलन हो । त्यसैले नेपाल संवत्को आन्दोलनाई नेवाः एकताको आन्दोलनका रूपमा पनि लिन सकिने अवस्था छ । यो एक किसिमले जाती, भाषा, संस्कृति, धर्म लगायतका विषयमा समानताका लागि भएको मुक्ति आन्दोलन पनि थियो ।

नेपाल संवत् र शंखधरको इतिहास
नेपाल संवत् ११४० वर्षअघि तत्कालीन ऐतिहासिक नेपालमण्डलमा शुरु भएको संवत् हो । अहिलेसम्म अनुसन्धानको क्रममा सबैभन्दा पहिला भारतको कलकतामा नेपाल वर्ष भएको पारमिता पाएपछि नेपालको संवत्का बारेमा चर्चा आएको थियो । तिब्बतमा नेपालमा ऋण मोचन भएको २ सय ५१ वर्षपछि लेखिएको कुरा लिखितरूपमा आएपछि नेपालमा ह्ण मोचन गरी नै संवत् चलाएको हो भनी अझ बढी विश्वास हुन थालेको हो । नेपाल संवत् ३६६ तिर भक्तपुका एक व्यक्तिले बनारसमा पुस्तक लेख्दा नेपालीय संवत् भनी लेखिएको कुरा पनि अनुसन्धान गर्ने व्यक्तिहरुले फेला पारेका थिए ।

त्यसै गरी हालको पशुपति चाबहिल क्षेत्र अर्थात् ग्वल देवपाटनमा शंकुदत्तके भन्ने नाम एउटा पुराणमा लेखिएको फेला परेको थियो । विभिन्न हस्तलिखित ग्रन्थहरुमा शंखधर भनी लेखिएका कुराहरु देखिन थालेको थियो । त्यसै गरी, पृथ्वीनारायण शाहले नेपाल मण्डल अर्थात् उपत्यका आफ्नो कब्जामा लिएपछि यस क्षेत्रमा विगतमा के–के भएको थियो भनी मानिसहरुको कुरा सुन्दै रेकर्ड राख्ने काम भएको थियो, त्यही भाषा वंशावाली हो । भाषा वंशावलीमा नै नेपाल संवत् प्रचलनमा ल्याएको कुरा उल्लेख भएको थियो । त्यसमा सिद्धिवन्त जोशीले लखुतीर्थमा बालुवा लिन जानका लागि साइत दिएको कुरासमेत आयो । विभिन्न वंशावलीमा शंखधर साख्वाःको नाम साख्वाः भनी लेखिएका थिए । वंशावली लेख्नेहरुले शंखधर साख्वाःलाई साख्वा मात्र भनी चिनेका थिए । त्यस्तै हस्तग्रन्थ लेख्नेहरुले नेपाल संवत् शुरु गर्ने महाजन भनेको शंकुदत्त हो भनी उल्लेख गरे ।

ग्रन्थ लेख्नेहरुले शंकुदत्त गर्दै शंखधर बनाउन थाले । ग्रन्थ लेख्नेहरुले शंखधर वा शंकुदत्त भनी चिनेका थिए भने वंशावली लेख्नेहरुले भने साख्वाः भनी चिनेका थिए । पछि यी दुवैले लेखेका नामलाई जोड्दै आहिले शंखधर साख्वाः भएको कुरा अनुसन्धानकर्ता काशिनाथ तमोट स्वीकार गर्नुहुन्छ । वास्तवमा शंखधर र साख्वाः एउटै व्यक्तिको दुईवटा नाम हो । अहिले यो दुवैलाई जोडेर शंखधर साख्वाः भएको हो ।

व्यवहारमा नेपाल संवत्
नेपालको एउटै मात्र राष्ट्रिय संवत् नेपाल संवत् भनेको राष्ट्रियतासँग जोडिएको र सांस्कृतिक जनजीवनमा प्रयोग हँुदै आएको संवत् हो । चन्द्रमासअनुसार चल्ने यो संवत् वास्तवमा आज भन्दा १ हजार १ सय ४० वर्ष अघिदेखि नै जनस्तरमा निरन्तररूपमा र राज्यस्तरमा पनि लामो समय चल्दै आएको थियो । चन्द्रमासअनुसार दिन गणना गर्ने क्रममा सौर्यमाससँग समायोजन गर्नका लागि प्रत्येक पाँच वर्षमा एक महिना थप एक महिना अधिकमास हुने भएका कारण चन्द्र शमशेरले विक्रम संवत् १९६० देखि मात्र नेपालमा पनि विक्रम संवत्लाई राज्यले आफ्नो दैनिकी जीवनमा प्रयोग गर्दै आएको कुरा स्पष्ट छ ।

विक्रम संवत्, शक संवत्, नेपाल संवत् यी सबै तिथिअनुसारको भए तापनि विक्रम संवत्लाई राज्यले प्रयोग गर्न सकोस् भनी तिथिअनुसार नै गते मिलाउने गरी पात्रो निर्माण गरेको देखिन्छ । विक्रम संवत् पनि तिथिसँग सम्बन्धित भएका कारण विक्रम संवत्लाई पूर्णिमामा अन्त्य हुने गरी दिन गणना गर्ने व्यवस्था गरेको पाइन्छ भने नेपाल संवत् भने औंसीमा समाप्त हुने अर्थात् शुक्ल पक्षबाट शुरु भई कृष्ण पक्षमा अन्त्य हुने व्यवस्था छ । यसलाई अमान्तमान भन्ने गरेका छन् । जब कि विक्रम संवत् भने पूर्णाङ्कमान हो । यसमा पूर्णिमामा अन्त्य हुन्छ । पूर्णाङ्कमानको तुलनामा अमान्तमान नै बढी वैज्ञानिक भएको कुरा ज्यातिषहरुले बताउँदै आएका छन् ।

त्यसैले अब नेपाल संवत्लाई पनि सरकारी कामकाजमा प्रयोग गर्नका लागि दिन गणनाअनुसार अर्थात् चन्द्रमास भए तापनि सूर्योदयको आधारमा दिन गणना गर्न सकिने गरी पात्रो निर्माण गर्नुपर्छ भनी लामो समयदेखि बहस हुँदै आएको विषय हो । यसैबीच नेपाल संवत्लाई पनि चन्द्रमास भए तापनि दिन गणना सौर्यमासको आधारमा विक्रम संवत्लाई जस्तै १, २, ३ गरी क्रमश गणना गर्न सकिने र त्यसमा तिथिको कुरा पनि उल्लेख गर्न सकिने गरेर नयाँ पात्रो नेपाली ज्योतिषहरुले यस वर्षदेखि ल्याउन लागेका छन् ।

प्रत्येक १५ दिनलाई थ्व र गा भनी उल्लेख गरी नेपाल संवत्को मौलिकतालाई आधार मानी पात्र तयार गर्न गरेको र अब नेपाल संवत् ११४१ बाट बजारमा आउने अवस्था रहेको छ । एउटा कुरा सम्झनै पर्छ कि तिथि र मिति दुवै सबैको साझा हो र कुनै पनि संवत्ले यो तिथि र मितिको आधारमा दिन गणना गर्न सकिन्छ ।

नेपाल संवत्को प्रयोग
प्रत्येक वर्ष नेपाल संवत्को नयाँ वर्षको क्रममा नेपाल संवत्को प्रयोगको चर्चा हुन्छ तर सरकारले आफ्नो दैनिकीमा प्रयोग गर्न व्यावहारिक छैन भन्दै आएको अवस्था हो । अब ज्योतिषहरुले सूर्योदयकै आधारमा दिन गणना गर्ने पात्रो ल्याउने अवस्थामा भने अझ बढी सजिलो हुने अवस्था आउनेछ । हिजोसम्म नेपाल संवत्का आन्दोलनकारीहरुले केन्द्रीय सरकारले नेपाल संवत्लाई व्यवहारमा प्रयोग गर्नुप¥यो भन्दै आएका थिए भने अहिले नेपाल संघीय संरचनामा गइसकेको अवस्थामा कम्तीमा पनि काठमाडांै उपत्यकाका स्थानीय सरकारहरुमा तथा वागमती प्रदेशमा प्रयोग गर्नका लागि पहलकदमी गर्नु आवश्यकता भएको छ । यो रणनीतिका रूपमा नेपाल संवत्का आन्दोलनकारीहरुले लिनुपर्ने देखिन्छ । उपत्यका र वागमती प्रदेशमा प्रयोग गरेको अवस्थामा केन्द्रीय सरकारले पनि नेपाल संवत्लाई प्रयोगमा ल्याउनका लागि सजिलो हुने कुरामा कसैको पनि दुईमत हुँदैन ।

अबको मुद्दा
नेपाल संवत्को आन्दोलनको क्रममा विगतमा जे–जस्तो मुद्दा जोड्दै ल्याएको भए तापनि अहिलेको अवस्थामा भने नेपाल संवत्लाई राज्यको तर्फबाट प्रयोग गर्न लगाउने नै प्रमुख मुद्दा बन्नु जरुरी छ । नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरिसकेको अवस्थामा अब स्थानीय सरकार, प्रदेश सरकार हुँदै केन्द्रीय सरकारलाई पनि प्रयोगका लागि आश्वासन मात्र हैन व्यवहारमा नै प्रयोग गर्न लगाउन आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।

नेवाः समुदायले नेतृत्व गरेको आन्दोलन भए तापनि नेपाल संवत्लाई अब सबैको साझा संवत्का रूपमा स्वीकार गर्न लगाउनका लागि नेवाः समुदायले मात्र होइन राज्यले नै नयाँ वर्षको उत्सवका रूपमा मनाउनुपर्छ भन्ने विषय आन्दोलनकारीहरुले उठाउनु जरुरी छ । नेपाल संवत्को नयाँ वर्षको शुभकामना कार्यक्रम अन्य आदिवासी जनजाति, खस आर्यलाई पनि समुदायगतरूपमा नै मनाउने वातावरण बनाउनुपर्ने देखिन्छ । नेपालको संविधानमा पनि नेपालको राष्ट्रिय संवत्को कुरा उल्लेख गर्न लगाउन आवश्यक पहलकदमी गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्