राष्ट्रिय मान्यतामा व्यवहारको खाँचो



दानदास श्रेष्ठ

नेपाल संवत् नयाँ वर्षको अवसरमा राष्ट्रप्रमुखदेखि कार्यकारी प्रमुख सबैले शुभकामना दिँदै आएका छन् । राजतन्त्रकालीन नेपालमा नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा यसरी आमदेशवासीका नाममा शुभकामना दिने प्रचलन थिएन । नेपालको आफ्नै देशको नाममा स्वदेशीबाटै संस्थापन गरिएको र देशवासीकै ऋणमोचनसँग सम्बद्ध संवत्को उपलक्ष्यमा शुभकामना त के नेपाल संवत्लाई राष्ट्रको संवत् भन्नसम्म पनि नरुचाउने तत्कालीन शासकप्रशासकमा देशको माया छ छैन भन्ने स्पष्ट देखिन्थ्यो । मुलुक गणतन्त्रमा प्रवेश गरिसकेपछि नेपालको मौलिक संवत् नेपाल संवत्को शुभारम्भमा मुलुकको राष्ट्राध्यक्षबाट शुभकामना सन्देश दिने प्रचलन थालियो ।

वास्तवमा भन्ने हो भने शुभकामना दिनुले मात्र पनि पूर्ण जिम्मेवारी वहन गरेको ठहर्दैन, किनभने जब राष्ट्रिय संवत्को मान्यता, राष्ट्रिय विभूतिको मान्यता दिइसकेपछि त्यसलाई गर्ने सबै व्यवहार पनि राष्ट्रिय नै हुनुपर्छ । मुलुककै नाममा रहेको विश्वकै नमुना संवत् नेपाल संवत्को संस्थापनाको कथा राष्ट्रिय मुक्ति आन्दोलनसँग पनि जोडिएको छ । त्यसैले त नेपाल संवत्लाई नेपाली जनजनले अहिलेसम्म जोगाएरै राखेका छन् । यसलाई प्रवर्तन गर्ने महान् सपुत राष्ट्रिय विभूति शंखधर साख्वादेखि संवत्को संवद्र्धन, प्रवद्र्धन, चलनचल्तीका लागि अनवरत योगदान दिने आमनेपालीहरु नेपाल संवत्का सच्चा भक्त हुन्, सच्चा पहरेदार हुन् जसको जति प्रशंसा, सम्मान र स्मरण गरे पनि थोरै हुन्छ । वास्तवमा राष्ट्रिय संस्कृति, स्वाभिमानलाई स्वस्फूर्तरुपमा भित्री हृदयदेखि नै प्राणसरि माया गर्ने आमनेपालीले आफ्नो मौलिक पहिचानलाई पनि उत्तिकै माया गर्छन् र तिनको संरक्षण संवद्र्धनका लागि जीवनपर्यन्त समर्पित रहन्छन् ।

नेसं ११२८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्लाई पुनः राष्ट्रिय मान्यता दिलाउनुभएको गुण कोही पनि सपुत नेपालीले बिर्सन सक्दैन । नेपाल संवत्का प्रवर्तक शंखधर साख्वालाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गर्ने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको योगदानलाई पनि बिर्सिनुहुँदैन । त्यस्तै नेपाल संवत्को राष्ट्रिय अस्मिता कायम राख्ने कार्यमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालदेखि अन्य नेताहरुबाट भएको अथक प्रयासलाई कसैले बिर्सनुहुँदैन । हालका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ, नेका नेता ओमकारमान श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतलाई नेपाल संवत्को अस्तित्व, नेपाल संवत्को संरक्षण संवद्र्धनका विषय उठ्नासाथ सम्झिनुपर्ने नामहरु हुन् । यहाँ नाम उल्लेख नभएका थुप्रै्र संवत्प्रेमीहरुको अगाध माया ममतालाई पनि कसैले बिर्सन सक्दैन ।

आआफ्नो कार्यकालमा राष्ट्रिय संवत्प्रति सद्व्यवहार गर्ने सबै नेताहरु धन्यवादका पात्र छन् नै । अझ नेपाल संवत्लाई राष्ट्रिय मान्यता प्राप्तिका लागि आमनागरिकलाई सचेत बनाउन जीवन नै समर्पण गर्दै आउने पद्मरत्न तुलाधर, मल्ल के सुन्दर, डा. जगदीशचन्द्र रेग्मी, प्रो. माणिकलाल श्रेष्ठ, डा. सुन्दरकृष्ण जोशी, नरेशवीर शाक्यलगायत थुप्रै नाम छन्, जसको प्रशंसा गरिसाध्य छैन ।

स्थापनाको ८८८ वर्षसम्म राजकीय संवत्कै रुपमा रहेको नेपाल संवत्का जन्मजात विरोधीहरु पनि नभएका होइनन्। तिनीहरुकै करतुतका कारण नेपाल संवत्ले सदियौं पीडादायी दुःखद अवस्था भोग्न बाध्य हुनुप¥यो । राष्ट्रको नाममा, राष्ट्रकै भूमिमा एवम् आर्थिक बिचल्लीमा परेका देशवासीको मुक्तिकार्य सम्पन्न गर्न सफलता मिलेको सम्झनामा स्थापित विश्वकै एक मात्र राष्ट्रिय संवत् नेपाल संवत्ले हालका दिनमा राष्ट्रिय मान्यताको पुनप्र्राप्ति गरे पनि असन्तुष्टिका केही बुँदाहरु भने बाँकी नै रहेको अवस्था छ ।

नेपाल संवत्लाई राष्ट्रिय संवत् भनिएको छ, तर व्यवहारमा राष्ट्रिय देखिएको छैन । न कुनै मुद्रामा नेपाल संवत् अंकित छ न कुनै नोटमा नेपाल संवत् प्रकाशित छ । न कुनै सरकारी दस्तावेजमा राष्ट्रिय संवत्को उल्लेख छ न कुनै सरकारी पाठ्यक्रममा शंखधर साख्वा र नेपाल संवत्बारे अध्याय राख्ने काम भएको छ । तसर्थ यसतर्फ सरकारको गम्भीर ध्यान जानु जरुरी छ ।

अर्काेतर्फ शंखधर साख्वालाई राष्ट्रिय विभूतिको मान्यता दिइएको छ । तर न शंखधर दिवस सरकारका तर्फबाट मनाउने कुनै व्यवस्था छ, न शंखधर साख्वाले प्रवर्तन गरेको नेपाल संवत् मनाउनै सरकार आफैले चासो लिने गरेको छ । नेपाल संवत्लाई राष्ट्रिय भनिए पनि व्यवहारमा राष्ट्रियजस्तो नदेखिनु, सम्मान राष्ट्रिय विभूतिको दिइए पनि व्यवहारमा त्यो सम्मानलाई सम्मानित राख्न नसक्नु ठूलो विडम्बना हो । वास्तवमा राष्ट्रिय विभूति र राष्ट्रिय संवत्प्रति व्यवहार पनि पूर्णरुपमा राष्ट्रिय नै हुनु जरुरी छ भन्ने मान्यतालाई भिन्न दृष्टिले हेर्नु जरुरी नै छैन । अबका दिनमा त्यही राष्ट्रिय मान्यताप्राप्त संवत् र विभूतिको संरक्षण संवद्र्धन गर्न सबै एकसाथ अग्रसर हुनु जरुरी छ ।

त्यसो त जनस्तरबाटै भए पनि मनाउँदै आएको नेपाल संवत् नयाँ वर्षको समारोहमा सरकार प्रमुख वा सरकारका प्रतिनिधिले प्रतिनिधित्व गर्दै प्रमुख आतिथ्य ग्रहण गर्ने परम्परा कायम रहेको छ । हरेक वर्ष कार्यक्रममा एक एक उपहार स्वरुप कहिले शंखधरलाई राष्ट्रिय विभूति, कहिले नेपाल संवत्लाई राष्ट्रिय मान्यता, कहिले हुलाक टिकटमा शंखधर प्रकाशन, कहिले सञ्चारमाध्यमहरुमा नेपाल संवत्को उल्लेख आदि कार्यहरु नभएका होइनन् । तर यी कुराहरुले मात्र राष्ट्रिय संवत्को माग पूरा हुँदैन । राष्ट्रिय भनिएपछि वास्तवमै राष्ट्रिय बनाइनुपर्छ । मूलतः राजकाजमा नेपाल संवत्को प्रयोग हुनुपर्छ । त्यसका लागि सरकारले जेजस्तो आयोग, कमिटी, विज्ञसमूह बनाउनुपर्छ, बनाएर टुंगो लगाउनुपर्छ ।

नेपाल संवत्ले आजका दिनमा जुन राष्ट्रिय मान्यता प्राप्त गरेको छ, एकातिर त्यसलाई जोगाइराख्नु जरुरी छ भने अर्काे महŒवपूर्ण कार्य त्यसलाई समान व्यवहार हुनु नितान्त आवश्यक छ । विभूति राष्ट्रिय तर सम्मान भने जातीय, संवत् राष्ट्रिय सम्मान भने क्षेत्रीय कदापि सुहाउने विषय होइन । राष्ट्रिय विभूति र राष्ट्रिय संवत्प्रति व्यवहार पनि पूर्णरुपमा राष्ट्रिय हुनु जरुरी छ । त्यसका लागि राष्ट्रिय विभूति शंखधर साख्वालाई राष्ट्रिय मुद्रामा अंकित गराइनुपर्छ, नेपाल संवत्लाई राष्ट्रिय मुद्रा, नोट, चेक, राजपत्रलगायतमा व्यवहृत गर्नुपर्छ भनेर केही वर्षदेखि उठाइआएको मागलाई राज्यले अहिलेसम्म पूरा गर्न सकेको छैन । सरकारी कामकाजमा नेपाल संवत्को उपयोग गराइनुपर्छ भन्ने माग पूरा हुन त यही हिसाबले हेर्ने हो भने अझै शताब्दीऔं संघर्ष जारी राख्नुपर्ने हो कि भन्ने आशंका उब्जेको छ । यी बाँकी कार्य सम्पन्न गर्न अहिलेको झन्डै दुईतिहाइ बहुमतको सरकारका लागि चुनौती होइन, राम्रो अवसर हो ।

प्रतिक्रिया दिनुहोस्