नेता बामदेव गौतमको मनोनयन विरुद्धको निवेदनमा आज सुनुवाई हुँदै

0
Shares

विकास भट्टराई, काठमाडौं

राष्ट्रिय सभाका सदस्यको लागि मनोनीत भएका नेकपाका नेता बामदेव गौतमलाई थप जिम्मेवारी नदिने गरी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेसम्बन्धमा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस हुने भएको छ ।

सर्वोच्च अदालतमा न्यायाधीश, कर्मचारीलगायतलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि र दशैं विदाले गर्दा सर्वोच्च अदालतमा लामो समयदेखि संवैधानिक इजलास गठन हुन सकेको थिएन ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा र न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासमा नेता गौतमलाई थप जिम्मेवारी दिने वा नदिने भन्नेसम्बन्धमा दशैं अघि दुई दिनसम्म बहस भएको थियो । कानून व्यवसायी धेरै भएका कारण बहस सकिएको थिएन । बहस गर्ने क्रम आज बुधबारलाई राखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस बमोजिम गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनीत गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सो कार्यविरुद्ध रिट निवेदन दायर गर्नुभएको थियो ।

सो रिट निवेदनको प्रारम्भिक सुनुवाई पछि न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई थप जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो । उक्त इजलासले सो आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेसम्बन्धमा रिट निवेदनलाई संवैधानिक इजलासमा पठाएको थियो ।

रिट निवेदनमा गौतमलाई मनोनीत गर्ने कार्यले नेपालको संविधानको धारा २ विपरित भएको दावी गरिएको थियो । सो धारामा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको उल्लेख गरिएको छ ।