नेपाल समाचारपत्र, काठमाडौं
चोभारस्थित निर्माणाधीन सुख्खा बन्दरगाहका ठेकेदारले बागमती नदीकिनारको ग्राभेल तथा गिट्टी चोरेर सुख्खा बन्दरगाहमा लगाएको भन्दै प्रमुख जिल्ला अधिकारी तथा प्रहरी कार्यालयमा उजुरी परेको छ ।
कीर्तिपुर नगरपालिका वडा कार्यालय ६ का तर्फबाट वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले सोमबार दिनुभएको उजुरीमा प्राकृतिक सम्पत्तिको चोरी गरेकोमा हदैसम्मको सजाय गर्न माग गरिएको छ ।
‘प्राकृतिक स्रोत–साधनको सुरक्षा स्थानीय सरकारको जिम्मेवारी हो, बागमती नदीकिनारबाट ठूलो परिमाणमा ग्राभेल र गिट्टी चोरी हुनु प्राकृतिक सम्पत्तिविरुद्धको अपराध त हो नै साथमा यहाँ निर्माणाधीन सुख्खा बन्दरगाह संरचना नै कमजोर बनाउने गलत काम पनि हो।’ –वडाध्यक्ष महर्जनले नेपाल समाचारपत्रलाई बताउनुभयो ।
गुह्येश्वरीस्थित अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र महानगर प्रहरी वृत्त, कीर्तिपुरलगायतमा समेत उजुरी दिइएको पत्रमा ग्राभेल चोरी गरी बेच्ने ठेकेदारको नाम भने किटानी गरिएको छैन ।
तर, मंगलबार बिहान कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलगायतको टोली साइटमा गएर चोरीको अवलोकन गरेको छ । नदीकिनारबाट ठूलो परिमाणमा ग्राभेल उत्खनन गरेर लगेको र त्यसको ठाउँमा सामान्य माटो भरेको देखिन्छ ।
‘हाम्रो प्रारम्भिक अनुमानअनुसार २५–३० ट्रिप ग्राभेल उठाएको देखिन्छ।’ –सुख्खा बन्दरगाह निर्माण व्यवस्थापनको जिम्मेवारी लिएको इन्टरमोडेल यातायात विकास समितिका निर्देशक युवक डंगोलले जानकारी दिनुभयो ।
तर, डंगोलले पनि किटानी गरेर कुन ठेकेदारबाट चोरीको काम भएको हो, बताउनुभएन । ‘ठेकेदारले उपठेकेदार राखेको देखिन्छ, छानबिन हुँदै छ, कोबाट अपराध भएको हो, उसलाई हामी उम्किन भने दिँदैनौं।’ –डंगोलले भन्नुभयो ।
‘एक ट्रिप ग्राभेलको १४ हजार रुपियाँ पर्छ, माटो दुई–तीन हजार रुपियाँ ट्रिपमा पाइन्छ, ठेकेदारले ग्राभेल लगेर माटो भरिदिएर चोरी गरेको छ, सुख्खा बन्दरगाह निर्माण प्रशासनले आफ्नै साँधमा भएको यो अपराध नदेख्नु शंकास्पद छ।’ –वडाध्यक्ष महर्जनले आक्रोश व्यक्त गर्नुभयो ।
निर्देशक डंगोल भने सुख्खा बन्दरगाह साइटभन्दा बाहिर चोरी भएको र गेटमा प्रवेश हुँदा कहाँबाट सामान ल्याएको नसोधिने, केबल सामानको गुणस्तर मात्र हेर्ने र चोरी रातको समयमा भएको देखिएकाले कार्यालय समयमा काम गर्ने सुपरभाइजरले पनि थाहा नपाएको भन्दै आफ्नो प्रतिरक्षा गर्नुहुन्छ ।











प्रतिक्रिया