सरोज यादव, विराटनगर
पछिल्लो २४ घण्टामा विराटनगरमा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये विराटनगरको विभिन्न अस्पतालमा उपचारका क्रममा ९ र २ जनाको घरमै मृत्यु भएको हो । कोरोनाले ज्यान लिने क्रम शुरु भएयता पहिलोपटक मोरङभित्र एकैपटक यतिधेरै संक्रमितको ज्यान गएको हो ।
मृतकहरुमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मिर्गौला र मुटुसम्बन्धी पुरानै समस्या रहेको अस्पतालहरुले जनाएका छन् । पछिल्लो १२ घण्टाभित्र नोबेल शिक्षण अस्पतालमा ५, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३, न्युरो अस्पतालमा १ र होम आइसोलेसनमा २ जनाको मृत्यु भएको छ । मृतकमध्ये १ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको दोस्रो दिनमै मृत्यु भएको छ ।
तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार बिहान ८ः२० बजेतिर मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ । उनको कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरी उपचार भइरहेको थियो । झापा गौरादह–५ का ६५ वर्षीय वृद्ध पुरुषको मंगलबार बिहान ८ः२५ बजेतिर मृत्यु भएको नोबेलले जनाएको छ । उनको कात्तिक १३ गते अस्पताल भर्ना गरी उपचार भइरहेको थियो ।
झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको मंगलबार बिहान ५ः४५ बजेतिर मृत्यु भएको नोबेलले जनाएको छ । ती वृद्धलाई कात्तिक १५ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
त्यसै गरी उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको मंगलबार बिहान ५ः३० बजेतिर नोबेलमै मृत्यु भएको छ । ती युवकलाई कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो । मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको मंगलबार बिहान ६ः३० बजेतिर नोबेलमै मृत्यु भएको छ । उनलाई पनि कात्तिक २२ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरी गरिएको स्वाब पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो।
सुनसरी इटहरी–५ की ६९ वर्षीया महिलाको मंगलबार बिहान ८ बजेतिर मृत्यु भएको कोसी अस्पतालले जनाएको छ । कात्तिक १३ गते कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । विराटनगर–३ का ७७ वर्षीय पुरुषको मंगलबार बिहान ७ः३० बजेतिर मृत्यु भएको कोसीले जनाएको छ । कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो । विराटनगर महानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मंगलबार बिहान १०ः३० बजेतिर मृत्यु भएको कोसी अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि कात्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो ।
मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको सोमबार राति ९ः५० बजेतिर मृत्यु भएको न्युरो अस्पतालले जनाएको छ । निमोनियाको समस्या रहेका पुरुषलाई कात्तिक २१ गते अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्नापछि गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । मोरङकै सुन्दरहरैंचा–७ की ७७ वर्षीया महिलाको मंगलबार बिहान ७ः३० बजेतिर आफ्नै घरमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार मात्रै कोरोना पुष्टि भएको र वृद्धा होम आइसोलेसनमै रहनुभएको थियो ।
विराटनगर–३ का ८९ वर्षीय पुरुषको सोमबार राति ९ बजेतिर आफ्नै घरमा मृत्यु भएको परिवारले जनाएका छन् । वृद्धलाई १७ दिनअघि कोरोना पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेसनमै बस्दै आएका उहाँको पुनः परीक्षण गराउँदा आइतबार रिपोर्ट नेगेटिभ आएको दोस्रो दिनमै मृत्यु भएको परिवारले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमणबाट अहिलेसम्म ७९ महिला र १ सय ७७ पुरुष गरी २ सय ५६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा १६ कात्तिकमा ४ जना, १७ र १८ कात्तिकमा ५–५ जनाको मृत्यु भएको छ । १९ कात्तिकमा १४ जनाको ज्यान गएको छ । २० कात्तिकमा ९ जनाले ज्यान गुमाएका थिए । २१ कात्तिकमा १२, २२ कात्तिकमा ५ र २३ कात्तिकमा २ जनाको मृत्यु भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ कात्तिकमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय १३ पुगेको छ । प्रदेश १ मा मंगलबार १ हजार १ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ, जसमा ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । परीक्षण गरिएकामध्ये १ सय २४ पुरुष र १ सय ९१ महिलाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७३ हजार ६ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय १५ पुगेको छ । प्रदेश १ मा मंगलबार ५ सय १६ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया