इन्जिनियर वस्तीको जीवन ‘संघर्ष’ पुस्तकमा



दिनेश महर्जन

पेसागतरुपमा इन्जिनियर गणेशराज वस्तीको ‘संघर्ष’ नामक संस्मरणको संंगालो बजारमा आएकोे छ । नौवटा संस्मरणको खण्ड रहेको यस पुस्तकमा मध्यमवर्गीय परिवारमा भोग्नुपरिरहेका परिघटनाको वर्णन गरिएको छ । विषयवस्तु खासै नौला छैनन् । जीवनमा दुःख र सुखका कुराकानी, अनुभव र भोगाइलाई पुस्तकमा उतारेको लेखक स्वयंले लेखकीयमा भनेका छन् ।

पुस्तकमा जागिरका अनुभवहरु भने खासै समेटिएका छैनन् । मध्यम वर्गका परिवारका सदस्यले पढाइका क्रममा सामना गर्नुपर्ने समस्या, चुनौतीलाई पुस्तकको केन्द्रीय विषयवस्तु बनाइएको छ । उदाहरणको लागि शुरुको लाङदीको आदर्श प्राथमिक विद्यालय र त्यसपछिको चिप्लेटीको निम्नमाध्यमिक विद्यालयका स्मरणीय दिनको वर्र्णन गरिएको छ । विशेष गरी यहाँ देखिने हिमाल र पहाडको सौन्दर्यको पनि वर्णन गरिएको छ ।

त्यसमा लेखकको उत्कृष्ट नतिजा ल्याउने इच्छा तथा विभिन्न कारणले त्यसमा असफल भएको वर्णन अति मर्मस्पर्शी रहेको छ । विशेष गरेर प्राप्ताङ्क नजोडिएर चौथो हुन पुग्दाको भावना अति मार्मिक रहेको छ ।
पहिलो खण्डमा हाम्रा मन्टेश्वरी रहेको छ भने अन्तिम खण्डमा महासागरीय यात्रा शीर्षकमा लेखिएको छ । हाम्रा मन्टेश्वरीमा शैशव अवस्थाको वर्णन छ भने महासागरीय यात्रामा जीवनको पछिल्लो चरणको भोगाइ र ठम्याइहरुबारे केन्द्रित गरिएको छ ।

पुस्तकमा मूलतः पढाइ र त्यसका क्रममा भोगिएका वातावरण, परीक्षाका अनुभव तथा हासिल भएका नतिजाले के–कसरी छोयो, त्यसका असरलाई स्वमूल्यांकनका माध्यमबाट प्रस्तुत गरिएको छ । पढ्दापढ्दै शिक्षक भएर अध्यापन गरेको, विद्यार्थीलाई सजाय गरिएको आदि घटनाको वर्णन पनि अभिरुचिपूर्ण छ । आफूलाई पढाउने शिक्षकसित आफू पनि शिक्षक हुँदा लागेको धकको उल्लेख गरिएको छ । सहपाठीबीचको प्रतिस्पर्धा, राम्रो गर्न सकेको अवस्थाको खुशी अनि अपेक्षाअनुरुप शैक्षिक सम्पादन हुन नसक्दाका दुःखका क्षण आदिबारे राम्ररी चित्रण गरिएको छ ।

भनिन्छ, वैज्ञानिक न्युटन र हामीबीच धेरै फरक छैन । एउटै फरक के हो भने, हामीले पनि स्याउ खाएका छौं, रुखबाट खसेको देखेका छौं, तर हामी खाएपछि या रुखबाट झेरेको देखेपछि आफ्नै धुनमा लाग्यौं । तर, न्युटनले किन खस्यो, पक्कै आकर्षण शक्ति हुनुपर्दछ भन्ने लागेर उनले गुरुत्वाकार्षणको शक्तिको बारेमा पत्तो लगाए र उनी न्युटन भए । त्यसै गरेर जेम्स वाटले जस्तै हामीले पनि चिया खाने बेलामा किट्लीको बिर्को चलेको दखेका हौं तर वाटले बाफबाट वस्तु चल्न सक्दो रहेछ भनेर रेलको सिर्जना गरे, हामी भने चिया खाएर आफ्नो बाटो लाग्यौं । विशेष गरेर अरु इन्जिनियरले पनि वस्तीले जस्तै परिस्थितिको सामना गरेका हुन्छन् तर वस्तीले त्यसलाई लिपिबद्ध गरे ।

त्यसै गरी इन्जिनियरका जीवनमा घटेका घटनाहरुको संस्मरण पुस्तकमा सुरुचिपूर्ण तरिकाले वर्णन गरिएको छ । लेखकको यो दोस्रो पुस्तक हो । यसअघि यात्रा संस्मरण नियात्रा प्रकाशित भएको थियो । त्यसै गरी किताबको पछिल्लो खण्डमा इन्जिनियर भएपछिको सन्तोषका क्षणहरु, वैवाहिक जीवनमा प्रवेश, लोक सेवामा परीक्षा दिँदाका समस्याहरु, आफ्ना सहपाठीहरुबीचको प्रतियोगिता, यसका सफलता तथा असफतलताका क्षणहरुको प्रस्तुति अति नै रमाइलो खालको छ ।

यस पुस्तकले नेपालको इन्जिनियरिङ विधामा अवश्य नै ठूलो योगदान पु¥याउने विश्वास गरिएको छ । पुस्तकमार्फत निश्चित कालखण्डका इतिहासलाई बुझ्न तथा विश्लेषण गर्न भावी पुस्तालाई सहयोग पुग्नेछ । किनभने नेपालको इन्जिनियरिङको उद्गमस्थल इन्जिनियरिङको अध्ययन संस्थानको बारेमा यसले धेरै जानकारी दिन्छ । विशेष गरेर विद्यार्थीको दृष्टिकोणबाट के–कस्तो थियो, अहिले के–कस्तो छ भन्ने विषयमा यसले प्रचूर प्रकाश पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्