मनको आकाश



नारायण खनाल, मालारानी-३,अर्घाखाँची ।


मनको आकाशमा
पटकपटक हेर्छु
कतै
शीतल र चम्किला, जून र ताराहरु
भेटिन्छन् कि भनेर ।
तर ,अहँ
देशको अबस्था देख्दा
कर्मठको विरह सुन्दा
लासहरुले गास कटाएर थुपारेको
राष्ट्रको ढुकुटीमा
गिद्धहरुको झम्टाई देख्दा
पटकपटक
सुनामी आउँछ मनमा
र , विदीर्ण बन्छ मन ।
प्रमत्त ,मदान्ध शासक
रक्षक कि भक्षक ?
बडो कठिन पर्छ ,छुट्टाउन मनलाई ।

रक्षकका बिल्लाहरुबाटै
प्रमदाहरु च्यात्तिएको ,लुटिएको ,टुक्राइएको देखेपछि
राष्ट्रको ढुकुटीमा ,सलहको
रजाइँ भेटेपछि
साँच्चै ,मेरो मनको आकाशमा
पीडाले घर जमाउँछ र
आहत बन्छ मन ।

जब
मनको आकाशमा
एकैसाथ
तुवाँलो लाग्छ ,हुण्डरी चल्छ
र उडाउँछ
सिर्जनाका नव किरणहरुलाई
जीवनका सपनाहरुलाई
तब
दामिनीको गतिमा
बहन्छ मन ,बौलाहा झैँ ,अँध्यारो दिशातिर
अनि
खहरे झैँ गडगडाउँछ फगतमा
बगरहरु सिर्जना गर्न।

बग्रेल्ती उम्रिएका ,दम्भहरुको सगरमाथा देखेर
अवाक बन्छ मन
कुरामा गगन चुम्ने ,छेपाराहरुको अठोट सुनेर क्रुद्ध बन्छ मन
तैपनि
मेरो मनको आकाशको आशाको ज्योति
मन्द बनेपनि ,निभेको छैन ।

मलाई ,
साहस र सत्कर्मले
एकता र बन्धुत्वले
पुनः तेजिलो पार्नुछ
मेरो मनको आकाशमा
मेरो माटोको खुसी खोज्ने
आशाको दियो
र त्यही तेजले
जीवन उज्यालो बनाउनुछ
सासले आस नमार्ने बेलासम्म ।

प्रतिक्रिया दिनुहोस्