लियोन सातौंपटक च्याम्पियन



पेरिस, (एजेन्सी)
फ्रेन्च क्लब लियोनको महिला टिम सातौंपटक यूईएफए च्याम्पियन्स लिग विजेता बन्न सफल भएको छ।
प्रतियोगिताअन्तर्गत आइतबार राति भएको फाइनलमा जर्मन क्लब भीएफएल वुल्पसबर्गलाई ३–१ गोलले पराजित गर्दै लियोनले लगातार सातौंपटक च्याम्पियन्स लिगको उपाधि उचालेको हो। योसमेत लियोनले सन् २०१६ यता लगातार पाँचौंपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। महिला च्याम्पियन्स लिगमा लियोन सबैभन्दा सफल क्लबसमेत हो।

स्पेनको रियले एरिनामा सम्पन्न फाइनल खेलमा शरुआती अग्रता लियोनले नै लिएको थियो। खेलको २५औं मिनेटमा एउगिने लेउ सोमेरले गोल गर्दै लियोनलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफको अन्त्यतिर जापानी मिडफल्डर साकी कुमागीले लियोनको अग्रता दोब्बर बनाइन्। उनले डी बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहारले सीधै जाली चुमेको थियो।

दोस्रो हाफको १२औं मिनेटमा एलेग्जान्डर पोपले बुल्पसबर्गलाई खेलमा फर्काइन्। उनले इवा पजोरको पासमा सहज हेडिङ गोल गरेकी थिइन्। खेलमा ३ मिनेट समय बाँकी रहँदा सारा जर्क गुनासडटिरले गोल गर्दै जित पक्का गरिन्। उनले कर्नरमा बनेको मुभमा आएको प्रहारलाई गोलको दिशा दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्