जोकोभिचलाई उपाधि



न्युयोर्क, (एजेन्सी)
विश्व नम्बर एक टेनिस खेलाडी सर्बियाका नोभाक जोकोभिचले वेस्टर्न एन्ड साउदर्न ओपन एटीपी प्रतियोगिताको उपाधि दोस्रोपटक जितेका छन्।
जोकोभिचले फाइनल खेलमा क्यानडाका मिलोस राओनिकलाई १–६, ६–३, ६–४ ले हराएका हुन्। उनले यसअघि सन् २०१८ मा सो उपाधि पहिलोपटक जितेका थिए। त्यसबेला फाइनलमा प्रतिद्वन्द्वी स्वीस खेलाडी रोजर फेडेरर थिए। योसँगै उनले करियरको ८०औं एटीपी उपाधि हात पारेका छन्। यस वर्ष उनले एटीपीको चौथो उपाधि जितेका छन्।
कोरोना भाइरसका कारण यस वर्ष धेरै प्रतियोगिता हुन पाएका छैनन्। जनवरीमा ग्रान्डस्लाम प्रतियोगिता अस्टे«लियन ओपन जितेपछि कोरोना भाइरसको महामारी बिस्तारै विश्वमा फैलिँदै गयो। त्यसपछि उनले जितेको प्रतियोगिता एटीपी कप र दुबई ड्युटी फ्रि टेनिस प्रतियोगिता हुन्। लामो समयपछि पुनः टेनिस प्रतियोगिता शुरू भएपछि उनले अमेरिकाको सिनसिनाटीमा आइतबार उपाधि जितेका हुन्।
जोकोभिचले मिलोस राओनिकविरुद्ध जितको शतप्रतिशत कीर्तिमान पनि यथावत् राखेका छन्। हालसम्म यी दुई खेलाडीबीच ११ पटक एक अर्कासँग भिडेका छन्, जसमा सबै खेलको नतिजा जाकोभिचतिरै ढल्केको छ। यस्तै, यस वर्ष खेलेका सबै २३ खेलमा पनि उनले जित हासिल गरेका छन्।
जोकोभिचले विश्व नम्बर–२ स्पेनी खेलाडी राफेल नाडालको ३५ एटीपी मास्टर्स १ हजार प्रतियोगिताको उपाधि जित्ने कीर्तिमानसँग पनि बराबर गरेका छन्। जोकोभिच एक्लो खेलाडी हुन्, जसले एटीपी मास्टर्स १ हजारका सबै उपाधि जितेका छन्।
जोकोभिचले अब ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनमा सहभागिता जनाउनेछन्। उनले पहिलो चरणको खेलमा १ सय ७ वरीयता प्राप्त बोस्नियाका दामिर जुमहुरसँग खेल्नेछन्। सेमिफाइनल नपुगुञ्जेल उनको ठूला खेलाडीसँग प्रतिस्पर्धा हुँदैन। उनलाई १८औं ग्रान्डस्लाम उपाधि जित्ने मौका पनि छ।
वेस्टर्न एन्ड सदर्न ओपन जितेपछि जोकोभिचले भने– ‘मेरा लागि मानसिक र भावनात्मक रूपमा स्थिर रहेर उपाधि जित्नु वास्तवमा चुनौतीपूर्ण थियो। फिजियोथेरापीकै कारण म यस प्रतियोगिताको फाइनलमा पुगेँ। किनभने, सेमिफाइनल खेलमा स्पेनका रोबर्टो बाटिस्टाएगुटविरुद्ध मैले ३ घण्टाभन्दा बढी खेलेँ। यो निकै कठिन थियो किनभने मेरो गर्धनमा पहिलेदेखि नै पीडा थियो।’

 

प्रतिक्रिया दिनुहोस्