लेवान्डोस्कीले रोनाल्डोलाई उछिन्ने सपना अधुरै



लिस्बन, (एजेन्सी)
युरोपियन च्याम्पियन्स लिग फुटबलको इतिहासमा एकै सिजनमा सर्वाधिक १७ गोल गर्ने कीर्तिमान पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको नाममा रहेको छ। यसपटक उक्त दुर्लभ कीर्तिमानलाई तोड्ने अवसर बायर्न म्युनिखका पोलिस स्टार रोबर्ट लेवान्डोस्कीले पाएका थिए। तर, उनी असफल सावित हुन पुगे।
आइतबार राति जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले फाइनल खेलमा फ्रेन्च क्लब पीएसजीविरुद्धको खेलमा गोल गरेर सो रेकर्ड बराबरी गर्ने वा तोड्ने अवसर पाएका थिए। तर, उनी गोलविहीन बनेपछि रोनाल्डोको रेकर्ड कायमै रह्यो। बायर्नले पीएसजीमाथि १–० को साँघुरो जित निकालेर छैठौंपटक उपाधि जित्दा लेवान्डोस्कीले भने कुनै गोल गर्न सकेनन्।
रोनाल्डोको दुर्लभ रेकर्डसँग बराबरी गर्न पोलिस फरवार्ड लेवान्डोस्कीलाई उक्त खेलमा २ गोल र रेकर्ड तोड्न ३ गोल आवश्यक थियो। तर, अन्तिम खेलमा उनी गोलविहीन बनेपछि रोनाल्डोलाई उछिन्नबाट चुकेका हुन्।
हाल इटालियन सिरी ए क्लब युभेन्ट्समा आबद्ध रोनाल्डोले सिजन २०१३÷१४ मा एकै सिजनमा १७ गोल गरेका थिए। जुन च्याम्पियन्स लिग इतिहासमा एउटै सिजनमा गरेको सर्वाधिक गोल संख्यासमेत हो। उनी त्यतिमा मात्र सीमित छैनन्, च्याम्पियन्स लिगमा सबैभन्दा धेरैपटक एउटै सिजनमा धेरै गोल गर्ने रेकर्ड पनि रोनाल्डोकै नाममा छ। यसअघि रोनाल्डोले बेग्लाबेग्लै समयको एकै सिजनमा क्रमशः १५, १६ र १७ गोल गरेका थिए। यता, लेवान्डोस्कीले भने यस सिजनमा आफ्नो गोल संख्या १५ पु¥याएका छन् । लेवान्डोस्की र रोनाल्डोले एकै सिजनमा गरी सर्वाधिक १५ गोल गरेको रेकर्डसँग भने बराबरी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्