बायर्नलाई छैठौंपटक च्याम्पियन्स लिगको उपाधि



लन्डन, (एजेन्सी)
जर्मन बुन्डेसलिगा च्याम्पियन क्लब बायर्न म्युनिखले छैठौंपटक यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
प्रतियोगिताअन्तर्गत सिजन २०१९÷२० को फाइनलमा बायर्नले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजीलाई १–० को साँघुरो गोलअन्तरले हराउँदै छैठौंपटक च्याम्पियन बन्न सफल भएको हो। सोमबार बिहान पोर्चुगलको लिस्बन शहरमा भएको फाइनल खेलको दोस्रो हाफमा गरेको एक मात्रै गोलको मद्दतमा बायर्नले उपाधि उचाल्न सफल भएको हो।
निकै प्रतिस्पर्धात्मक उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंग्गिएको थियो। पहिलो हाफमा दुवै टोलीले केही राम्रा मुभहरू बनाए पनि गोल गर्न भने सकेनन्। पहिलो हाफमा बल पोसेसनमा बायर्नले बलियो पकड बनाएको थियो। खेलको १८औं मिनेटमा नेयमारले डिबक्स भित्रबाट गरेको प्रहारलाई गोलकिपर मानुयल नुयरले बचाएका थिए। त्यस्तै, २१औं मिनेटमा रोबर्ट लेवान्दोस्कीको सटिक प्रहार पोलमा लागेर फर्किएको थियो। खेलको २३औं मिनेटमा नेयमार, फर्नान्डो हरेरा हुँदै आएको बललाई एन्जल डी मारियाले राम्रो फिनिस गर्न सकेनन् जसका कारण पीएसजीले खेलमा अग्रता लिने सुनौलो मौका खेर फालेको थियो। २९औं मिनेटमा नेयमारको फ्रिकिकबाट आएको बललाई एन्डर हरेराको जोडदार प्रहार बायर्नका खेलाडीसँग ठोक्किएर पोस्ट नजिकैबाट बाहिरिएको थियो।

खेलको ३१औं मिनेटमा थोमस मुलरको क्रसमा रोबर्ट लेवान्दोस्कीले हेडको प्रहार गर्दा पीएसजीका गोलकिपर नाभासले दुईपटकको प्रयासमा बललाई नियन्त्रणमा लिएका थिए। खेलको ४०औं मिनेटमा रोबर्ट लेवान्दोस्कीको हेड प्रहार पनि सफल हुन सकेन। ४५औं मिनेटमा पीएसजीले खेलमा अग्रता बनाउने निकै सुन्दर मौका पाए पनि त्यो सफल हुन पाएन। हरेरासँगको पासमा केलियन एम्बाप्पेले प्रहार गरेको बललाई बायर्नका गोलकिपरले बचाए। त्यसलगत्तै बायर्नले गरेको डरलाग्दो दुईवटा आक्रमणलाई पीएसजीका गोलकिपर नाभासले बचाएका थिए।

दोस्रो हाफमा भने बायर्नका फ्रेन्च खेलाडी किंसले कोमान नायक बने। उनले खेलको ५८औं मिनेटमा हेडिङमार्फत गोल गरेका थिए। जुन गोल बायर्नलाई उपाधि दिलाउनसमेत निर्णायक सावित बन्यो। जोसुवा किमिचको सुझबुझपूर्ण एरियल पासमा डी बक्समा निगरानीमा रहे पनि कोमानले हेडिङ गर्दै बललाई पीएसजीको गोलपोस्टभित्र छिराएका थिए। उक्त बललाई गोलकिपर नाभासले रोक्ने कुनै मौका नै पाएनन्। उनको त्यो गोल च्याम्पियन्स लिगमा बायर्नको पाँच सयौं गोल थियो। च्याम्पियन्स लिगमा पाँच सय गोल गर्ने बायर्न तेस्रो टिम बनेको छ। बायर्नभन्दा अगाडि बार्सिलोना र रियल छन्। बार्सिलोनाले ५ सय १७ गोल र रियल मेड्रिडले ५ सय ६७ गोल गरेका छन्।
सो गोलपछि बायर्नले खेलमा थप गति बढाए पनि गोल भने थप्न सकेन। खेलको ६६औं मिनेटमा पीएसजीका केलियन एम्बाप्पेले पाएको मौकामा बललाई टच गर्न सकेनन्। ७०औं मिनेटमा माक्विनोसले एन्जल डी मारियाको पासमा डिबक्स भित्रबाट गरेको प्रहारलाई बायर्नका गोलकिपर मानुयल नुयरले उत्कृष्ट बचाउ गरे। खेलको अन्तिमतिर दुवै टिमले केही फाउल खेलेका थिए। जसका कारण १० मिनेटमा तीनजनाले पहेँलो कार्ड पाएका थिए। खेलको इन्जुरी समयमा पीएसजीका लागि नेयमार र एम्बाप्पेले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल हातबाट गुमेको थियो।
हारसँगै इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगे पनि पहिलोपटक उपाधि जितेर इतिहास रच्नबाट पीएसजी चुकेको छ। यसपटक पीएसजीलाई पहिलोपटक च्याम्पियन्स लिगको उपाधि दिलाउने नेयमार र क्लियन एम्बाप्पेको सपना पनि अधुरै रह्यो। युरोपियन च्याम्पियन हुने योजनाका साथ नौ वर्षमा एक दशलमव दुई विलियन युरो खर्च गरेको पीएसजीले च्याम्पियन्स लिगको उपाधि उचाल्न अझै कुर्नुपर्ने भएको छ।
उक्त उपाधिसँगै बायर्नले भने यस सिजन समूह चरणदेखि फाइनलसम्म खेलेका सबै खेलमा शतप्रतिशत जितको नतिजा निकाल्दै उपाधि चुम्न सफल भएको छ। च्याम्पियन्स लिगको इतिहासमा यो दुर्लभ रेकर्डसमेत हो। छैठौंपटक उपाधि जित्दै बायर्नले धेरै पटक यो प्रतियोगिताको उपाधि जित्ने सूचीमा लिभरपुलसँग बराबरीसमेत गरेको छ।
निराश समर्थक र प्रहरीबीच झडप
च्याम्पियन्स लिगको फाइनलमा पीएसजी बायर्न म्युनिखसँग पराजित भएपछि निराश बनेका पीएसजीका समर्थकले उपद्रो मच्चाएपछि झडप भएको छ। फाइनलमा जर्मन क्लब बायर्नसँग फ्रेन्च क्लब पीएसजी १–० गोल अन्तरले पराजित भएपछि पीएसजीका समर्थकहरू निराश हुँदै तोडफोडमा उत्रिएका थिए। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरी परिचालित भएपछि झडप भएको थियो।
राजधानी पेरिसको चेप्स एलिसी क्षेत्रमा रहेको एउटा बारमा बसेर फाइनल हेरिरहेका दर्शकहरूलाई हटाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो। समर्थकहरूले सामाजिक दूरी कायम नगरी बसेका थिए भने मास्क पनि लगाएका थिएनन्।
वेस्टर्न पेरिसमा पनि पीएसजीका समर्थक र प्रहरीबीच झडप भएको थियो। त्यहाँ पीएसजीको खेल हेर्नका लागि पार्क डे प्रिन्सेसमा दुईवटा स्क्रिन लगाइएको थियो। सरकारको गाइडलाइनअनुसार स्टेडियममा खेल हेर्नका लागि ५ हजार दर्शकलाई अनुमति दिइएको थियो। अत्यधिक भीड भएपछि केही समर्थकलाई भित्र प्रवेश गर्न दिइएको थिएन। अत्यधिक भीड बढेपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रु ग्याससमेत प्रयोग गर्नुपरेको थियो। त्यस्तै, सेन्ट्रल पेरिसमा पनि प्रहरी र समर्थकबीच झडप भएको थियो। त्यहाँ समर्थकहरूले कारमा आगो लगाएका थिए। भीडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले लाठीचार्जसमेत गरेको थियो।
मार्सेलीमा उत्सव मनाइयो
एकातिर हारले निराश दर्शक झडपमा उत्रिँदा अर्कोतिर भने पीएसजी हारेकोमा खुसीयाली मनाइएको छ। फ्रान्सको शहर मार्सेलीमा पीएसजी पराजित हुँदा फ्रेन्च क्लब ओलम्पिक डी मार्सेलीका समर्थकहरूले धुमधामका साथ उत्सव मनाएका थिए। बायर्न म्युनिखसँग पराजित हुँदै पीएसजी उपाधिबाट वञ्चित भएपछि मार्सेली शहरमा उपाधि जितेजस्तै गरी उत्सव गरिएको थियो। मार्सेलीका समर्थकहरूले उत्सव मनाउन सडकमा निस्किएर आतिसबाजीसमेत गरेका थिए। त्यस्तै उनीहरूले पीएसजीविरुद्ध नाराबाजीसमेत गरेका थिए।
मार्सेली समर्थकहरू पीएसजीलाई सबैभन्दा बढी घृणा गर्छन्। केही दिनअघि मार्सेलीका समर्थकले पीएसजीका समर्थकलाई आक्रमणसमेत गरेका थिए। दुई क्लबका समर्थकबीच हिंसात्मक गतिविधि भएपछि मार्सेलीमा पीएसजीको जर्सी प्रयोग गर्न प्रतिबन्धसमेत गरिएको थियो। तर, चौतर्फी विरोध भएपछि प्रहरीले प्रतिबन्ध फिर्ता लिएको थियो।

प्रतिक्रिया दिनुहोस्