अजहरको उत्कृष्ट शतक, ६ हजार रन पूरा



लन्डन, (एजेन्सी)

इंग्ल्यान्डविरुद्ध पाकिस्तानका कप्तान अजहर अलीले उत्कृष्ट अविजित शतक पूरा गरेपछि टेस्टमा क्रिकेटमा ६ हजार रन पूरा गरेका छन्।
योसँगै टेस्ट क्रिकेटमा ६ हजार रन पूरा गर्ने उनी पाँचौं पाकिस्तानी ब्याट्सम्यान बनेका छन्। यसका बाबजुद पाकिस्तान इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट खेलमा भने फ्लोअनमा परेको छ।
तेस्रो दिन पाकिस्तान ९३ ओभरमा २ सय ७३ रनमा अल आउट भएको थियो। पहिलो इनिङमा समग्रमा ३ सय १० रनले पछि परेपछि पाकिस्तान फ्लोअनमा परेको हो। पाकिस्तानका कप्तान अजहर अली २ सय ७२ बलमा २१ चौकासहित १ सय ४१ रनमा अविजित रहे। यो उनको करिअरको १७औं टेस्ट शतक हो।
छैठौं विकेटका लागि अजहर र विकेटकिपर मोहम्मद रिजवानले १ सय ३८ रनको साझेदारी गर्दै केही इनिङ उकासेका थिए। रिजवनलाई क्रिस वोक्सले जस बटलरबाट क्याच गराउँदै साझेदारी तोडेका थिए। रिजवानले १ सय १३ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए। ओपनर सान मसुदलाई ४ रनमा जेम्स एन्डरसनले एलबिडब्लू आउट गर्न पुगे। एन्डरसनले नै आबिद अलीलाई १ रनमा डोम सिब्लेबाट क्याच गराएका थिए। बाबर आजमलाई एन्डरसनले ११ रनमा एलबिडब्लू आउट गर्दै इंग्ल्यान्डको पकड जमाएका थिए। असाद सफिकलाई एन्डरसनले नै जो रुटबाट ५ रनमा क्याच आउट गराएका थिए। फवाद आलम पनि क्रिजमा लामो समय टिक्न सकेनन्। आलमलाई स्पिनर डोम बेसले २१ रनमा बटलरबाट क्याच गराएका थिए।
यासिर शाह २०, साहिन अफ्रिदी ३, मोहम्मद अब्बास एक र नसिम शाह शून्यमा आउट हुन पुगे। इंग्ल्यान्डका अनुभवी तीव्र गतिका बलर जेम्स एन्डरसनले ५ विकेट लिए। उनको टेस्ट करिअरको २९औं पटकसम्म आइपुग्दा पाँचभन्दा बढी विकेट पुगेको छ। स्टुअर्ट ब्रोड २, क्रिस वोक्स र डोम बेसले एक–एक विकेट लिए।
त्यसअघि साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले १५४ दशमलव ४ ओभरमा ८ विकेटको क्षतिमा ५ सय ८३ रनमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो। योसँगै तीन टेस्ट सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ। पहिलो टेस्टमा इंग्ल्यान्ड तीन विकेटले विजयी हुँदा दोस्रो टेस्ट बराबरीमा सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्