अभिषेक व्यावसायिक फुटबल खेल्न भारत प्रस्थान



काठमाडौं, (नेस)
नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाल व्यावसायिक फुटबल खेल्न भारत प्रस्थान गरेका छन्।
भारतको दोस्रो डिभिजन लिग क्लब मोहम्मदनमा अनुबन्ध भएका अभिषेक भारत पुगेका हुन्। उनी यही भदौ ३ गते भारतको दोस्रो डिभिजन क्लब मोहम्मदनमा अनुबन्ध भएका थिए। सो क्लबले अभ्यास तथा प्रशिक्षणका लागि बोलाएपछि अभिषेक कोलकाता प्रस्थान गरेका हुन्।

अभिषेक र मोहम्मदनबीच तीन वर्षका लागि सम्झौता भएको छ। दुईपक्षबीच भएको सहमतिअनुसार सम्झौता रकम भने खुलाइएको छैन। अघिल्लो सिजन मच्छिन्द्रबाट लिग खेलेका रिजाल अन्तिम समयमा भने माल्दिभ्समा खेल्न गएका थिए। उनले त्यहाँ दोस्रो डिभिजनको क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए।

त्यसपछि उनी स्वदेश फर्किंदा काठमाडौं बाहिरका केही प्रतियोगितामा मनाङबाट खेल्ने तयारी गरेपनि मच्छिन्द्रले त्यसमा असहमति जनाएको थियो। जसका कारण उनले काठमाडौं बाहिर मनाङले खेलेका प्रतियोगितामाभने खेल्न पाएका थिएनन्। उनले हालको क्लबसँगपनि केही सर्तका साथ सम्झौता गरेको बताएका छन्।

जसमा यदि क्लब दोस्रो डिभिजनबाट शीर्ष डिभिजनमा बढुवा नभएमा अन्य क्लबबाट आएको प्रस्तावलाई स्वीकार गर्न पाउनेछन्। यस्तै, उनी राष्ट्रिय टिमका लागि जतिबेला पनि फर्कन पाउने भएका छन्।कोरोना भाइरसका कारण भारतमा फुटबल अहिले स्थगित भएपछि फेरि शुरू गर्ने तयारी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्