लिल र रेनिसले अंक बाँडे



लन्डन, (एजेन्सी)
गत शुक्रबारबाट शुरू भएको नयाँ सिजनको फ्रेन्च लिग वानमा लिल र रेनिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

शनिबार राति भएको खेलमा लिलका जोनाथन बाम्वाले गोल गर्दा रेनिसका डामिन डा सिल्भाले बराबरी गोल फर्काएका थिए। उक्त खेलमा दुवै टोलीले १० खेलाडीमा समेटिएर म्याच अन्त्य गरेका हुन्।

प्रतिस्पर्धात्मक बनेको खेलको ३५औं मिनेटमा रेनिस १० खेलाडीमा खुम्चिएको थियो। सचा बोइले सीधै रातो कार्ड व्यहोर्दै मैदानबाट बाहिरिएपछि रेनिस १० खेलाडीमा समेटिएको थियो।

खेलको ३९औं मिनेटमा जेकाको पासमा जोनाथन बाम्वाले गोल गरेर घरेलु टोली लिललाई अग्रता दिलाएका थिए। तर, खेलको ४२औं मिनेटमा लिल पनि १० खेलाडीमा समेटियो। रेइनिल्डो सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दोस्रो हाफमा दुवै टोलीले समान १० खेलाडीमा रहेर खेल्नुपरेको थियो।

दोस्रो हाफमा दुवै टोलीले गोलका केही प्रयास गरेका थिए। दोस्रो हाफमा मैदान छिरेका युवा मिडफिल्डर इडुआर्डाे कामाभिंगाको पासमा सिल्भाले ७३औं मिनेटमा गोल गर्दै रेनिसलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। कामाभिंगा ६३औं मिनेटमा बेन्जामिनको स्थानमा मैदान छिरेका थिए भने त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंग्गिएको थियो।

त्यस्तै, अर्काे खेलमा एन्जर्सले डिजोनमाथि १–० को कठिन जित निकालेको छ। एन्जर्सको जितमा इस्माइल ट्राओरेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले २२औं मिनेटमा गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्