‘हल अफ फेम’ मा कालिस, अब्बास र लिसा



लन्डन, (एजेन्सी)
दक्षिण अफ्रिकी पूर्वअलराउन्डर ज्याक कालिस, पाकिस्तानका पूर्वखेलाडी जाहिर अब्बास, र अस्ट्रेलियन पूर्वमहिला क्रिकेटर लिसा स्थेलेकेरलाई इन्टरनेसनल क्रिकेट काउन्सिल आइसीसीले हल अफ फेमको अवार्डबाट सम्मानित गरेको छ।

आइसीसीले यी तीनैजना खेलाडीलाई विगतमा गरेको प्रदर्शनको आधारमा उक्त सम्मान प्रदान गरेको हो। केपटाउनका कालिसले १९ वर्षको करियरमा सबै विधामा कुल २५ हजारभन्दा रन बनाएका थिए भने ६ सय विकेट लिएका थिए। उनले टेस्टमा मात्र १३ हजारभन्दा बढी रन जोडेका छन्।

त्यस्तै, एकदिवसीय म्याचमा ११ हजारभन्दा बढी रन जोडेका उनले टेस्टमा दुई सय ९२ तथा एकदिवसीय २ सय ७३ विकेट लिएका छन्।

त्यसैगरी, पाकिस्तानका पूर्वब्याट्सम्यान अब्बास पनि सो अवार्डबाट सम्मानित भएका छन्। अब्बास पाकिस्तानका लागि पहिलोपटक दोहोरो शतक बनाउने खेलाडी हुन्। टेस्ट र एकदिवसीयमा पाकिस्तानका रन मेसिन बनेका अब्बासले इंग्ल्यान्डविरुद्ध पहिलोपटक दोहोरो शतक बनाएका थिए। उनले उक्त समय नौ घण्टासम्म क्रिजमा बसेर रन जोडेका थिए।

उनले १९७१ मा नै दुई सय ७४ रनको उत्कृष्ट पारी खेलेका थिए। पाकिस्तानका लागि ७८ टेस्टमा पाँच हजार ६२ रन बनाएका थिए भने एकदिवसीयमा उनले ६२ खेलमा दुई हजार ७२ रन बनाएका थिए, त्यस्तै उनले एक सय ५३ रनको पनि उच्चस्कोर बनाएका छन्। यसका साथै उनले निकै लामो समयसम्म इंग्ल्यान्डमा काउन्टी क्रिकेट पनि खेलेका थिए।

यस्तै, अस्ट्रेलियन पूर्वमहिला क्रिकेटर लिसाले आफ्नो करियरमा दुईपटक महिला विश्वकपको उपाधि दिलाएकी थिइन्। आफ्नो १२ वर्षको करियरमा एकदिवसीय क्रिकेटमा हजार रन बनाउने र एक सय विकेट लिने उनी पहिलो महिला खेलाडीसमेत हुन्। सन् २०१३ को विश्वकप जितेपछि उनले आफ्नो करियरलाई विश्राम दिएकी थिइन्। पछिल्लो पटक उनी क्रिकेटको कमेन्टेटरका रूपमा व्यस्त रहेकी छन्। उनी महिला कमेन्टेटरमा चर्चित नाम पनि हो। उनले आईपीएलमा पनि कमेन्ट्री गर्ने गर्छिन्।

उनले करियरमा आठ टेस्ट खेल्दा ४ सय १६ रन बनाएकी थिइन्। जसमा उनले शतक पनि बनाएकी थिइन्। त्यस्तै, एकदिवसीय खेलमा २ हजार ७ सय २८ रन बनाएकी छन्। त्यस्तै, बलिङमा पनि उनले एकदिवसीयमा १ सय ४६ विकेट लिएकी छन्।

प्रतिक्रिया दिनुहोस्