बायर्न छैटौंपटक च्याम्पियन्स लिग च्याम्पियन



एजेन्सी । जर्मन बुन्देसलिगा च्याम्पियन क्लब बायर्न म्युनिखले छैटौंपटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । प्रतियोगिता अन्तर्गत सिजन २०१९/२० को फाइनलमा बायर्नले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पिएसजीलाई १–० को साँघुरो गोलअन्तरले हराउँदै छैटौं पटक च्याम्पियन बन्न सफल भएको हो ।

नेपाली समयअनुसार सोमबार बिहान पोर्चुगलको लिस्बन सहरमा भएको फाइनलमा बायर्नले दोस्रो हाफमा गरेको एक मात्रै गोलको मद्दतमा जित निकाल सफल भएको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । पहिलो हाफमा दुवै टोलीले केही राम्रा मुभहरु बनाएका पनि गोल भने गर्न सकेन ।

दोस्रो हाफमा भने बायर्नका फ्रेन्च खेलाडी किङ्स्ले कोमान नायक बने । उनले खेलको ५९औं मिनेटमा हेडिङमार्फत् गरेको गोलले नै बायर्नलाई उपाधि दिलाउन निर्णायक सावित बन्यो । जोसुवा किमिचको सुझबुझपूर्ण एरियल पासमा डीबक्समा निगरानीमा रहेका कोमानले हेडिङ गर्दै पिएसजीकाे गोलपोस्टमा बल छिराएका थिए । उक्त बललाई गोलकिपर नाभासले रोक्ने कुनै मौका नै पाएनन् ।

सो गोलपछि बायर्नले खेलमा थप गति बढाएपनि गोल भने थप्न सकेन । यता, इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगे पनि पहिलो उपाधि जितेर इतिहास रच्नबाट पिएसजी चुक्यो । पिएसजीले दोस्रो हाफमा गोलका केही राम्रा अवसरहरु सिर्जना गरे पनि गोल फर्काउन नसक्दा उपाधि जित्ने सपनामाथि तुषारापात भयो ।

यसपटक पिएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि दिलाउने नेयेमार र क्लियन एम्बाप्पेको सपना पनि अधुरै रह्यो । उक्त उपाधिसँगै बायर्नले भने यस सिजन समूह चरणदेखि फाइनलसम्म खेलेका सबै खेलमा शतप्रतिशत जितको नतिजा निकाल्दै उपाधि जित्न सफल भयो । च्याम्पियन्स लिगको इतिहासमा यो दुर्लभ रेकर्ड समेत हो ।

प्रतिक्रिया दिनुहोस्