छानबिन उपसमितिले काम थाल्यो



काठमाडौं, (नेस) 
१३औं दक्षिण एसियाली खेलकुद (साग) को ब्याडमिन्टन खेलका सामग्री खरिद तथा वितरणमा देखिएको अनियमितता तथा राखेप परिसरको रूख कटानका सम्बन्धमा छानबिन गर्न गठित उप–समितिले काम थालेको छ। सागको सामान खरिद तथा रूख कटानका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गठन गरेको ५ सदस्यीय उपसमितिले काम शुरू गरेको हो। गोविन्दप्रसाद भट्टराईको संयोजकत्वमा गठित उपसमितिको शुक्रबार बसेको पहिलो बैठकले छानबिन कार्यलाई विभिन्न चरणमा बाँडेर अघि बढ्ने र सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ।

उपसमितिको संयोजक भट्टराईले विषयगत कामको वर्गीकरण गरेर सोहीअनुसार सदस्यलाई जिम्मेवारी बाँडफाँट गरिएको बताए। उपसमितिका सदस्यले सामान खरिद तथा वितरणको आर्थिक पक्ष, कानुनी पक्ष, सामानको गुणस्तर र दाखिलासम्बन्धी प्रक्रियाको अनुसन्धान गर्नेछ। उपसमितिले सरोकारवालाले छानबिनका सम्बन्धमा कुनै गुनासो, सुझाव, निवेदन लगायतका प्रमाण कागजात पेस गर्न चाहेमा ७ दिनको समय उपलब्ध गराउने निर्णय गरेको छ।

सरोकारवाला पक्षले भदौ १२ गतेभित्र आफ्नो गुनासो, सुझाव, निवेदन लगायतका प्रमाण कागजात उपसमितिसमक्ष पेस गर्न सक्नेछन्। १३औं सागको खेल सामान खरिद र सातदोबाटोस्थित राखेप परिसरको रूख कटानका सम्बन्धमा छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयले साउन ३० गते राखेपलाई निर्देशन दिएको थियो। मन्त्री जगतबहादुर विश्वकर्माले साग खेलकुदको दौरान खेल र खेलाडीका लागि खरिद गरिएको जुत्ता, म्याट लगायतका आधारभूत सामग्रीको दाखिला तथा वितरणमा आर्थिक अनियमितता भएको भन्दै छानबिन गरी दोषी ठहर भए कारबाही गर्न राखेपलाई निर्देशन दिएका थिए।

मन्त्रालयको निर्देशनअनुसार राखेपले बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा ५ सदस्यीय छानबिन उप–समिति गठन गरेको थियो। समितिमा भट्टराईसहित, अर्जुन बिक, महेन्द्रकुमार राई, नारायण अर्याल र पासाङ शेर्पा सदस्य रहेका छन्। समितिलाई २१ दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्न समय दिइएको छ।

प्रतिक्रिया दिनुहोस्