मार्टिनेजमाथि सिटीको नजर



लन्डन, (एजेन्सी)
इटालियन सिरी क्लब इन्टर मिलानका फरवार्ड लौटारो मार्टिनेजमाथि इंग्लिस क्लब म्यानचेस्टर सिटीको पनि नजर परेको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अर्जेन्टिनी फरवार्ड मार्टिनेजलाई सिटीमा अनुबन्ध गर्न प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबसँग छलफलअघि बढाएको जनाएका छन्। ग्वार्डिओलाले सिटीमा रहेका फरवार्ड सर्जियो अगुएरोको दीर्घकालीन प्रतिस्थापनका रूपमा मार्टिनेजलाई भिœयाउन चाहेका छन्। अगुरो र मार्टिनेज दुवै अर्जेन्टिनाका हुन्। अगुरो हाल ३२ वर्षका छन्।

पछिल्लो समय सिटी च्याम्पियन्स लिगबाट बाहिरिँदा अगुरो घाइते अवस्थामा थिए। लामो समयदेखि सिटीमा प्रमुख खेलाडीका रूपमा रहँदै आएका उनको विकल्पमा ग्वार्डिओला युवा खेलाडीको खोजीमा छन्।
मार्टिनेज भित्र्याउन स्पेनको क्लब बार्सिलोनाले गत समरबाटै चासो देखाइरहेको छ। बार्सिलोनाले लुइस स्वारेजको स्थानमा मार्टिनेजलाई भित्र्याउन चाहेको छ। नयाँ प्रशिक्षक रोनाल्ड कोएमानले मार्टिनेजको साटो फ्रेन्च क्लब लियोन तथा नेदरल्यान्ड्सका मेम्फिस डिपेलाई भित्र्याउन सक्ने सम्भावना बढेपछि सिटी मार्टिनेजको दौडमा निस्किएको हो।

शुक्रबार राति युरोपा लिगको फाइनलमा मिलान सेभियासँग ३–२ ले हारेपछि मिलानको जर्सीमा पहिलो उपाधि जित्ने मार्टिनेजको सपना भने अधुरै रह्यो। सो हारपछि उनले अब मिलान छाड्न सक्ने सम्भावना प्रबल छ।

प्रतिक्रिया दिनुहोस्