फ्रेन्च लिगको नयाँ सिजन शुरू



लन्डन, (एजेन्सी)
फ्रान्सको घरेलु शीर्ष डिभिजनको लिग वान फुटबलको नयाँ सिजन शुरू भएको छ। लिग वानको नयाँ सिजन शुक्रबार रातिबाट शुरू भएको छ। शुक्रबार राति भएको नयाँ सिजनको पहिलो खेलमा नान्टेस र बोर्डोले गोलरहित बराबरी खेल्दै समान अंक बाँडेका छन्। बोर्डोको मैदानमा भएको सो खेलमा दुवै टिमले गोल गर्ने केही अवसरलाई गुमाउँदा खेल बराबरीमा टुंग्गिएको हो।

घरेलु टोली १० खेलाडीमा समेटिए पनि नान्टेसले त्यसको फाइदा भने उठाउन सकेन। खेलको २०औं मिनेटमा मेहदी जेर्कानेले दोस्रो पहेँलो कार्डसहित रातो कार्ड पाउँदा बोर्डो १० खेलाडीमा खुम्चिएको थियो। शुक्रबारै तय भएको मार्सेली र सेन्ट इटिनेबीचको खेल भने कोरोना भाइरसका कारण स्थगित भएको छ। मार्सेलीको खेलाडीमा कोरोना देखिएपछि शुक्रबार तय भएको उक्त खेल स्थगित गरिएको हो।

कोरोनाका कारण गत सिजनको लिग वान अप्रिलमा सकिएको थियो। सिजन नसकिँदै रद्द हुँदा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई च्याम्पियन घोषणा गरिएको थियो। केही क्लबले लिग वान रद्द गरेकोमा चर्को विरोध गरे पनि उक्त निर्णयमा भने कुनै फेरबदल गरिएन।

प्रतिक्रिया दिनुहोस्