नेपाली क्रिकेटरको कोरोना बीमा



काठमाडौं, (नेस)
नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना बीमा गरेको छ।
क्यानले शनिबार २३ खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ। क्यानले खेलाडीसँगै कीर्तिपुरस्थित त्रिवि मैदानका १६, मूलपानी क्रिकेट मैदानका ६ र क्यान अफिसमा कार्यरत ६ कर्मचारीको बीमा गराएको हो।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत वृद्धि हुँदै गएपछि क्यानले खेलाडी र कर्मचारीको बीमा गरिएको क्यानका कोषाध्यक्ष रोशन सिंहले जानकारी गराए।

पहिलो चरणमा पुरुष खेलाडी, अफिस कर्मचारी र मैदानका कर्मचारीको कोरोना बीमा गरिएको कोषाध्यक्ष सिंहले बताए। उनले २३ जना खेलाडीसहित त्रिवि मैदान, मूलपानी मैदान र क्यान अफिसका कर्मचारी गरी कुल ५१ जनाको कोरोना बीमा गरिएको बताएका छन्। त्यस्तै, दोस्रो चरणमा महिला खेलाडीको कोरोना बीमा गरिने क्यानले जनाएको छ। त्यसका लागि क्यानले महिला खेलाडीको आवश्यक कागजात जुटाउनसमेत शुरू गरिसकेको छ।

कोरोनाका कारण लामो समयबाट क्रिकेट खेलाडीहरूले प्रशिक्षण गर्न पाएका छैनन्। क्यानले भदौ १ गतेबाट गर्ने भनिएको राष्ट्रिय टिमको प्रशिक्षणसमेत स्थगित गरिसकेको छ। त्यस्तै, कोरोनाको संक्रमण बढेपछि राष्ट्रिय खेलकुद परिसद् (राखेप) ले पनि सम्पूर्ण खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्