सेभिया छैठौंपटक युरोपा लिग च्याम्पियन 



लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगा फुटबल क्लब सेभिया छैठौंपटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
प्रतियोगिताअन्तर्गत शुक्रबार राति जर्मनीमा भएको रोमाञ्चक फाइनल खेलमा सेभियाले इटालियन सिरी ए क्लब इन्टर मिलानलाई ३–२ गोलअन्तरले हराउँदै उपाधि जितेको हो।

यससँगै सन् १९७२ मा प्रतियोगिता शुरू भएयता सेभिया योसमेत गरी छैठौंपटक युरोपा लिगको च्याम्पियन बनेको छ। पछिल्लो नौ वर्षमा ६ पटक स्पेनिस क्लबले युरोपा लिगको उपाधि जितेको छ।

जसमा चारपटक सेभियाले उपाधि जितिसकेको छ। सेभिया जतिपटक फाइनलमा पुग्छ, त्यति नै पटक उपाधि जित्दै रेकर्ड बनाएको छ। यता हारसँगै मिलानको चौथोपटक उपाधि जित्ने सपना भने चकनाचुर भएको छ।

जर्मनीको रहिम इनर्जी स्टेडियममा भएको उपाधि भिडन्तमा मिलानले खेलको अन्त्यतिर आत्मघाती गोल गरेपछि सेभियाले उपाधि पक्का गरेको थियो। निकै रोमाञ्चक खेलमा पहिलो हाफमै ४ गोल भएको थियो। मिलानविरुद्ध सेभियाले आक्रामक खेल खेल्दै नतिजा निकाल्न सफल भयो।

खेलमा अग्रता भने मिलानले लिएको थियो। खेल शुरू भएको पाँचौं मिनेटमै सेभियाका खेलाडीले डी बक्समा मिलानका रोमेलु लुकाकुलाई फाउल गरेर लडाएपछि पाएको पेनाल्टीमा लुकाकु आफैले प्रहार गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए। तर, १२औं मिनेटमै सेभिया खेलको लयमा फर्कियो।

मैदानको माथिल्लो क्षेत्रबाट पाएको पासमा सेभियाको बक्सभित्र रहेका लुका डे जोङले दर्शनीय हेडिङ गोल गरेर खेल बराबरी बनाएका थिए।

त्यसपछि खेलको ३३औं मिनेटमा सेभियाले खेलमा अग्रता लिएको थियो। यसपटक डे जोङले नै व्यक्तिगत दोस्रोपटक हेडिङ गोल गरे। लामो दूरीको फ्रि किक प्रहारमा बक्सभित्र अनमार्क रहेका उनले गोलकिपरअघि बढेका बेला हेडिङ गर्दै पोस्टको माथिल्लो बारबाट बललाई सुन्दर ढंगले जाली चुमाउन सफल भए। उनले गरेका दुई हेडिङ गोल निकै दर्शनीय थिए।

तर, खेलमा अग्रता लिएको दुई मिनेटमै सेभियाले गोल व्यहो¥यो। खेलको ३३औं मिनेटमा मिलानका लागि डिएगो गोडिनले हेडिङमार्फत नै गोल गर्न पुगे। फ्रि किक प्रहारबाट आएको बललाई उनले दर्शनीय ढंगले जाली चुमाएका थिए। सो गोलपछि खेलको पहिलो हाफ २–२ को बराबरीमा टुंग्गिएको थियो।

दोस्रो हाफको खेल थप आक्रामक बन्यो र दुवै टोलीले जितको तेस्रो गोलका लागि ठूलै संघर्ष गरे। तर, सफलता भने सेभियालाई मिल्यो। खेलको ७४औं मिनेटमा मिलानका लागि दुर्भाग्यपूर्ण रह्यो। मिलानका फरवार्ड लुकालुले आफ्नै गोलपोस्टमा गोल छिराए।
डी बक्सभित्र सेभियाका डिएगो कार्लोसले प्रहार गरेको ओभरहेड किकलाई क्लियर गर्ने क्रममा बल लुकाकुको खुट्टामा लाग्दै सहजै गोलपोस्टमा छिरेपछि सेभियाले आत्मघातीको गोल उपहार पायो। जुन गोल खेलकै निर्णायक सावित बन्यो। मिलानले खेलमा फर्कन भरमग्दुर प्रयास गरेका भए पनि सेभियाले ती सबै प्रयासलाई विफल पारेपछि जुलेन लोपेटेगुईको टोली सेभियाले ३–२ को जितसहित उपाधि पोल्टामा पार्न सफल भएको हो।
यस सिजन सेभियाका लागि निकै सुखद रह्यो। सेभिया ला लिगामा टप–४ मा रहँदै नयाँ सिजन च्याम्पियन्स लिगका लागि छनोट हुन सफल भयो भने युरोपा लिगको उपाधिसमेत जितेर थप खुसीयाली छायो। फेब्रुअरी ९ यता सेभिया क्लब इतिहासकै लामो अपराजित यात्रामा रहेको छ। यस दौरान खेलिएका २१ खेलमा सेभियाले १२ मा जित हात पारेको छ भने ९ मा बराबरी गरेको छ। सेभियाले पछिल्लो दुई खेलमा युरोपाकै क्वार्टरफाइनल र सेमिफाइनलमा क्रमशः इंग्लिस प्रिमियर लिग क्लब उल्भस र म्यानचेस्टर युनाइटेडलाई हराएको थियो।
नयाँ प्रशिक्षक लोपेटेगुईले यससँगै सेभियालाई सफलताको बाटोमा अघि बढाउनुका साथै आफ्नो जागिरसमेत सुरक्षित गरेका छन्। उनी गत सिजन रियल मेड्रिडबाट बर्खास्तीमा परेका थिए।
उपाधि रेयेस र प्युर्टालाई समर्पित
कीर्तिमानी छैठौंपटक युरोपा लिगको उपाधि जितेका सेभियाका कप्तान जिसस नभासले उक्त उपाधि पूर्वखेलाडी जोस एन्टोनियो रेयेस र एन्टोनियो प्युर्टालाई समर्पित गरेका छन्। युरोपा लिगको फाइनल पुगेको हरेकपटक उपाधि उचालेर रेकर्ड बनाएको सेभियाका कप्तानले सबै खेलाडी, साथीभाइ र समर्थकलाई समर्पित गरेका छन्। यसका साथै उनले त्यो उपाधि अघिल्लो वर्ष कार दुर्घटनाबाट ज्यान गुमाएका रेयेस र २००७ मा हृदयघातबाट ज्यान गुमाएका प्युर्टालाई समर्पित गरेका छन्। रेयेस युरोपा लिगको उपाधि जित्ने टिमका सदस्य रहेका थिए। कप्तान नभासले सेभियाका समर्थक सो उपाधिले निकै खुसी हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्