यूएस ओपनमा थप दुई खेलाडी खेल्नेमा शंका



न्युयोर्क, (एजेन्सी)
यही अगस्ट ३१ देखि शुरू हुन लागेको यूएस ओपन टेनिस प्रतियोगितामा थप दुई खेलाडीको सहभागितामा शंका उब्जिएको छ। १ हजार ४ सय व्यक्तिलाई कोरोना भाइरस परीक्षण गरिएकोमा ती दुई खेलाडीमा कोरोना पोजिटिभ आएको हो।

अर्जेन्टिनाका गुइडो पेला र बोलिभियाका हुगो डेलिनका फिजियो जुआन गाल्भानको नतिजा पोजिटिभ आएपछि दुवै खेलाडी क्वारेन्टाइनमा बसेका छन्।

यी खेलाडी यसै शुक्रबारदेखि शुरू हुने सिनसिनाटी मास्टर्सबाट बाहिरिएका छन्। सिनसिनाटी र यूएस ओपन प्रतियोगिता दर्शकविना नै आयोजना हुनेछन्। साथै, खेलाडीहरूले अमेरिका टेनिस संघ (यूएसटीए) को स्वास्थ्य गाइड लाइनलाई निर्देशन मान्नुपर्छ।

गाल्भानलाई १० दिनका लागि क्वारेन्टाइनमा राखिएको छ। तर, यसअघि यूएसटीएले खेलाडीहरूलाई १४ दिनको क्वारेन्टाइन बस्नुपर्ने जनाएको थियो। पेलाले भने कोभिड–१९ महामारीको बीचमा हुने पहिलो ग्रान्डस्लाममा खेल्न पाउने आशा गरेका छन्।

प्रतियोगितामा अमेरिकी महान् खेलाडी सेरेना विलियम्स, सर्बियाका पुरुषको विश्व नम्बर एक नोभाक जोकोभिच र ब्रिटेनका तीनपटक ग्रान्डस्लाम विजेता एन्डी मुरेले सहभागिता जनाउने तय भइसकेको छ। अन्य महान् खेलाडीहरूमा रोजर फेडेरर, राफायल नाडाल, सिमोना हालेप र एस्ली बार्टीले नखेल्ने निधो गरेका छन्। उनीहरूले सुरक्षित र यात्रा समस्याका कारण नखेल्ने जनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्