नेयमारले फाइनल गुमाउने सम्भावना



लन्डन, (एजेन्सी)
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फाइनलमा स्थान बनाएको खुसीको क्षण क्लबका स्टार खेलाडी नेयमार र क्लबलाई घाटा हुने सम्भावना भएको छ।

मंगलबार राति लिपजिगलाई हराएपछि नेयमारले जर्सी साटासाट गरेका थिए। यही खुसीको क्षण क्लब र खेलाडीलाई महँगो हुने सम्भावना बढेको हो।

कोरोना भाइरसको महामारीमा जर्सी साटासाट गर्न नपाइने नियम बनाइएको छ। तर, नेयमारले विपक्षी खेलाडीसँग गरेको सो कार्यप्रति यूएफाले विचार गरिरहेको छ। नियमानुसार खेलाडीले नियम उल्लंघन गरेमा एक दिनको प्रतिबन्ध र १२ दिनको सेल्फ आइसोलेसन बस्नुपर्छ।

यदि, यूएफाले सो नियम उल्लंघन गरेको सावित गरेमा नेयमारले फाइनल खेल खेल्न पाउने छैनन्। फाइनल खेल आइतबार हुँदै छ। नेयमारले च्याम्पियन्स लिगको पछिल्लो ६ खेलमा ३ गोल गर्नुका साथै चार गोलका लागि असिस्ट दिएका छन्। प्रतिबन्धमा परे पीएसजीलाई उनको अभाव खट्किन सक्नेछ।

प्रतिक्रिया दिनुहोस्