कोइम्यान बार्सिलोनाको प्रशिक्षकमा नियुक्त



मेड्रिड, (एजेन्सी)
रोनाल्ड कोइम्यान बार्सिलोनाका नयाँ प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्। क्लबले सेटिनलाई बर्खास्त गरेको २ दिनपछि कोइम्यानको नाम प्रमुख प्रशिक्षकका लागि छनोट गरेको हो। ५७ वर्षीय नेदरल्यान्डसका मेनेजर बार्सिलोनामा दुई वर्षका लागि अनुबन्ध भएका हुन्।

कोइम्यानले १९८९ र १९९५ बीचमा बार्सिलोनाका लागि खेलेका थिए। उनले क्लबलाई चार लिग उपाधि र

युरोपियन कप जिताउन सहयोग पनि गरेका थिए। क्याटालान गत सिजनको ला लिगामा दोस्रो स्थानमा रहेको थियो। च्याम्पियन्स लिगबाट पनि बाहिरिएपछि ला लिगा महारथीले २००७–०८ सिजनपछि पहिलोपटक कुनै पनि उपाधि जित्न सकेन।

गत सिजनको ला लिगाको विजेता रियल मेड्रिडसँग ५ अंकले पछि परेको बार्सिलोना च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ ले हारेकोे थियो। सोमबार हारेसँगै प्रशिक्षक सेटिनलाई बर्खास्त पनि गरिएको थियो।

कोइम्यानले पहिलोपटक प्रशिक्षकको स्वाद सन् १९९८ को विश्वकप दौरान लिएका थिए। उनी त्यतिबेला राष्ट्रिय टोलीका प्रशिक्षक गुस हिडिन्कका सहायक थिए। १९९८ देखि २००० सम्म उनी नउक्याम्पमा लुइज भान गालका दाहिने हात पनि रहेका थिए।

कोइम्यानले मेनेजरको रूपमा डच लिगका टोली आयक्स र पीएसभीलाई उपाधि दिलाएका छन्। उनलाई यो सफलताले सफल मेनेजरको रूपमा स्थापित गराएको थियो। उनले २००७ मा भ्यालेन्सियामा कोपा डेल रेले उपाधि जितेका थियो। तर, उनको टोली ला लिगाको अंक तालिकामा २ अंकले मात्रै रेलिगेसनले बचेपछि उनी बर्खास्त भएका थिए।

कोइम्यानले एजेड अल्कमार र फेयेनुर्डमा मेनेजर सम्हालेपछि २०१४ मा इंग्लिस क्लब साउथाम्पटनका मेनेजर बनेका थिए। साउथाम्पटनमा उनी सफल पनि भए। क्लबलाई उनले युरोपा लिगका लागि समूह चरणमा छनोट गराएका थिए। त्यसपछि इंग्लिस क्लब एभर्टनमा सन् २०१७ मा नियुक्त भएपछि उनले त्यहाँ १६ महिना समय व्यतीत गरेका थिए।

कोइम्यानले सन् २०१८ मा डच राष्ट्रिय टोलीका लागि प्रमुख प्रशिक्षक बन्ने सौभाग्य प्राप्त गरे। यो उनको करियरकै सबैभन्दा ठूलो उपलब्धि रहेको उनले बताएका छन्। तर, यो बताए पनि उनी राष्ट्रिय टोलीलाई २०१८ को विश्वकपमा छनोट गर्न सफल भने भएका थिएनन्। उनले राष्ट्रिय टोलीलाई युरो २०२० का लागि छनोट गराउन भने सफल भएका थिए।

२०२० मा बार्सिलोनाको यात्रा
–१३ जनवरीमा क्विक सेटिन मेनेजरमा नियुक्त
–१९ जनवरीमा उनको पहिलो नेतृत्वको खेलमा ग्रानाडालाई १–० ले पराजित। (लियोनल मेसीले गोल गरेका थिए)
–६ फेबु्रअरीमा कोपा डेल रे क्वार्टरफाइनलबाट बाहिरिएको (एथ्लेटीको बिलबाओसँग हारेको)
–१ मार्चमा एल क्लासीको खेलमा रियल मेड्रिडसँग हारेको। यही खेलले रियल मेड्रिडसँग बार्सिलोना अंक तालिकामा पछि परेको थियो।
–१६ जुलाईमा ओसासुनासँग २–१ ले हार्दा पहिलोपटक घरेलु मैदानमा ३० खेलको अपराजय यात्राको क्रम भंग भएको।
–१४ अगस्टमा बायर्न म्युनिखसँग च्याम्पियन्स लिग क्वार्टरफाइनलमा ८–२ को हार व्यहोरेको। प्रशिक्षक सेटिनलाई पनि बिदा दिएको थियो।
–१८ अगस्टमा रोनाल्ड कोइम्यानलाई प्रशिक्षकमा ल्याउने तयारी भएको ।
–१९ अगस्टमा कोइम्यानलाई प्रशिक्षकको पदमा नियुक्त गरिएको ।

प्रतिक्रिया दिनुहोस्