पीएसजी १ सय १० खेलपछि च्याम्पियन्स लिग फाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं

फ्रान्सेली शीर्ष क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को च्याम्पियन्स लिग फाइनल खेल्ने धोको मंगलबार राति पँरा गरेको छ। पीएसजीले लिस्बनमा भएको पहिलो सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लिपजिगलाई ३–० ले हराएको हो। टोली सो प्रतियोगितामा १ सय १० खेलपछि फाइनलमा पुगेको छ। उनीहरू पहिलोपटक युरोपेली लिगको चम्किलो ट्रफी उचाल्न एक जित टाढा छन्। लिपजिगलाई हराउन त्यति गाह्रो चाहिं भएन जबकि क्वार्टरफाइनल खेलमा इटाली क्लब एटलान्टाले त पीएसजीको साटो नै लिएको थियो।

एटलान्टासँग हार्न केही मिनेटको मात्रै समय थियो। तर, अन्तिम ३ मिनेटमा २ गोल गरेर पीएसजीले एटलान्टासँग नतिजा खोसेको हो। यही टर्निङ प्वाइन्टले उनीहरूको खेलमा परिवर्तन पनि भयो र लिपजिगलाई सजिलैसँग पन्छाइदियो। पीएसजीले फाइनल जितेर क्लबको इतिहासको पानामा एउटा अध्याय थप्ला त? अहिले यसैमा सबैको ध्यान केन्द्रित भएको छ। च्याम्पियन्स लिग उपाधिमाथि पछिल्लो समयमा खासगरी बार्सिलोना, रियल मेड्रिड, बायर्न म्युनिखकै आधिपत्य रहेको छ।

सन् २०११ मा कतार स्पोर्ट्सले पीसजीमाथि ठँलो रकम लगानी गरेदेखि पीएसजीले च्याम्पियन्स लिगमा पहिलोपटक फाइनलमा स्थान बनाएको हो। उनीहरूको ९ वर्षको मिहिनेत अहिले आएर सफल हुने देखिएको छ। कतारी प्रायोजनपछि पीएसजीले २४ घरेलु ट्रफीमध्ये ७ लिग वानसहित १८ उपाधि जितेको छ। तर, च्याम्पियन्स लिगमा भने सेमिफाइनलसम्म पनि पुग्न सकेको थिएन।

अहिले भने कोरोना भाइरसको सिजनमा पनि पीएसजीले १९९४–९५ पछि च्याम्पियन्स लिगको सेमिफाइनलको यात्रा पनि ग¥यो र अन्ततः फाइनल पनि पुग्न सफल भयो। कतारी प्रायोजनअन्तर्गत उनीहरूले पहिलो चार सिजन क्वार्टरफाइनलमा प्रवेश गरेका थिए। तर, त्यसपछिका तीन सिजनमा उनीहरू अझ कमजोर बन्दै अन्तिम १६ बाटै बाहिरिएका थिए। त्यसैले, सायद ब्राजिली स्ट्राइकर नेयमारका लागि महँगो रकम तिर्न पनि उनीहरू पछि परेनन्।

यस सिजनको च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगमा पीएसजी हारेको थियो। जर्मन क्लब बोरुसिया डर्टमुन्डविरुद्ध २–१ को हारपछि दोस्रो लिगमा नेयमारको एक गोलसँगै बोरुसियामाथि २–० को जित निकालेको थियो। यो जितसँगै पीएसजी अन्तिम आठमा पुगेको थियो। एटलान्टाविरुद्धको क्वार्टरफाइनल खेलबाट त झन्डै बाहिरिसकेको थियो। तर, स्टार खेलाडी क्लियन एमबाप्पे र नेयमारको सहयोगमा यो खेलमा रोमाञ्चक जित हात पारेको थियो।

पीएसजीका खेलाडीहरूले निकै मिहिनेत गरिरहेका छन्। ब्राजिली स्ट्राइकर नेयमार र एमबाप्पेलाई एन्जेल डी मारिया, बर्नाट, मार्किन्होस, चोपो मोटिङले पनि साथ दिएका छन्। टिम वर्ककै कारण उनीहरूले एटलान्टाविरुद्धको खेलमा पुनरागमन गर्न सफल पनि भएका थिए। नेयमार २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पीएसजीमा अनुबन्ध भएका थिए।

उनले बार्सिलोनाबाट खेल्दा २०१४–१५ सिजनमा च्याम्पियन्स लिग उपाधिको स्वाद चाखिसकेका छन्। तर, उनले पीएसजी करियरमा भने यो स्वादका लागि पर्खिरहेका छन्। पीएसजीका अर्का खेलाडी क्लियन एमबाप्पे त विश्वकप ट्रफीको स्वादमै रमाइसकेका खेलाडी हुन्। उनी महँगो खेलाडीको रूपमा पीएसजीमा आएका हुन्। उनलाई १ सय ८० मिलियन युरो तिरिएको थियो।

नेयमारको यसअघिको दुई सिजन खुट्टाको चोटका कारण दुर्भाग्यवश समाप्त भएको थियो। उनीमाथि विश्वास गरेर पीएसजीले त्यत्रो ठँलो रकम खर्च ग¥यो तर उनी घाइते हुन पुगेपछि पीएसजीको च्याम्पियन्स लिग जित्ने अभियानमा धक्का लागेको थियो। हाल भने नेयमारले पीएसजीलाई उपाधिको आश देखाएका छन्। २८ वर्षीय स्ट्राइकरले एटलान्टामाथिको जितमा सबैको मन जितेका थिए। उनले पहिलो हाफमा नेतृत्व राम्ररी बहन गरे र दोस्रो हाफमा दुवै गोलमा उनको योगदान पनि भएको थयो। सेमिफाइनलमा दोस्रो गोल हुनुमा पनि उनको एसिस्ट थियो।

नेयमारको प्रतिभामाथि कुनै शंका नै छैन। उनले बार्सिलोना र पीएसजीमा गरी २ सय ७० खेलबाट १ सय ७५ गोल गरिसकेका छन्। उनले च्याम्पियन्स लिगमा ५९ खेलबाट ५९ गोलमा आफँलाई भागिदार बनाएका छन्। उनले सो प्रतियोगितामा कुल ३५ गोल गर्दा २४ मा एसिस्ट गरेका छन्। च्याम्पियन्स लिगमा पीएसजीका लागि भने उनले १४ गोल गर्दा ९ एसिस्ट गरेका थिए। बाँकी सबै बार्सिलोनाका लागि उनको योगदान थियो। यदि, पीएसजीलाई च्याम्पियन्स लिग उपाधि दिलाएमा नेयमारको उचाइ अझै बढ्नेछ। यसको नतिजा हेर्न अब २३ अगस्ट आइतबारसम्म कुर्नुपर्ने हुन्छ।

समर्थकमा उत्साह
यदि, पीएसजीले उपाधि जित्यो भने फ्रान्सेली क्लबका समर्थक सबैभन्दा बढी खुसी हुनेछन्। फाइनल पुग्दा नै उत्साहित भएर सडकमा उत्रेका उनीहरू उपाधि नै जिते भने सडक नै भरिन सक्ने अहिले नै संकेत दिइएको छ। उनीहरूलाई यो कोरोना भाइरस महामारीको वास्ता पनि हुने छैन।

उनीहरूबीच सोसल डिस्टेन्स पनि हुने छैन किनभने खेलाडीहरू नै गोल गर्दा एक अर्कासँग अंगालो मारेर खुसीयाली मनाइरहेका छन्। यदि, यसो भएमा फ्रान्सेली सुरक्षाकर्मीका लागि नियन्त्रणमा लिन हम्मे हम्मे हुनेछ। सेमिफाइनल जित्दा नै समर्थकहरूले खुसीयाली मनाउने क्रममा आतिसबाजी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्