रंगकर्मी दुःखभित्र सुख खोजिरहेका छन्ः हरिहर शर्मा



शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले दर्शकसँग जोडिने शिलशिला कायम राख्न भर्चुवल माध्यमबाट शैली संबाद शुरु गरेको छ। शैली संवादको पहिलो श्रृंखलामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा ख्यातिप्राप्त रंगकर्मी हरिहर शर्मासँग शैली संवाद भएको छ।

रंगकर्मी सरस्वती अधिकारीले सञ्चालन गरेको कार्यक्रममा नेपालमा नाटकको इतिहास सम्झँदै शर्माले भनेका छन् ‘नेपालमा नाटकको इतिहास, नाटकको उद्गम,अर्थात यस्को मुहान के के हुन भनेर खोज्दै जाँदा निकै पुरानो इतिहास कोट्याउनु पर्छ। लामो ब्याख्या गर्नुपर्ने हुन्छ। समग्रमा सबैले बुझ्ने गरि भन्नुपर्दा, नाटक भनेको अभिनय र अभिनय भनेको नाटक हो।

अभिनयको उद्गम भनेको हाम्रो धार्मिक संस्कारहरु, हाम्रा जीवन पद्धतिहरु, अझ त्योभन्दा बढी मान्छेका आवश्यकता र चाहनाले उब्जाएका बिषय नै हुन्। हाम्रा वैदिक मान्यता, प्राकृतिक मान्यता, बैज्ञानिक मान्यताहरु छन्, यी थुप्रै मान्यता बिच मान्छेलाई मनोरञ्जनको आवश्यकता प¥यो, मनोरञ्जनको लागि नाटकको उदय भयो, अभिनयको सुरुवात भयो भनेर बुझ्दा हुन्छ।’ आप्नो समयमा नाटक गर्दाको अवस्थाबारे शर्माले खुलाउँदै भनेका छन् ‘नाटक हिजो होस वा आज, यस्मा सजिलो भन्ने हुँदैन। नाटक गर्दा अप्ठ्यारो नै हुन्छ, दुःख नै हुन्छ।

त्यो दुःखलाई विर्सँदै, आत्मसात गर्दै नाटक गर्दाको सन्तुष्टि र आनन्द उच्चकोटिको हुन्छ। त्यही नै नाटक गर्नुको सुखानुभुती हो। हामी आफँैले रोजेको पेशा र त्यसमै काम गर्न पाएर पनि धेरै नाट्यकर्मी, रंगकर्मी दुःखभित्र पनि रमाएको देख्छु। आर्थिक रुपले जति पीडा भएपनी मानसिक रुपले सन्तुष्टि मिल्छ।’

राजनैतिक, सामाजिक परिवर्तनसँगै नाटकमा समाबेश हुने बिषयमा आएको परिवर्तनलाई शर्माले कसरी हेरेका छन्। कार्यक्रममा उनले भने ‘हिजोका दिनमा नाटक र गितसंगित मात्र मनोरञ्जनको माध्यम थियो भने अहिले धेरै माध्यम छन्।

थुप्रै मनोरञ्जनका साधनको बिकास भएको छ। समय क्रमसँगै मानिसमा चेतनाको स्तर पनि बढेको छ। बिज्ञान, प्रबिधिको बिकाससँगै मानिस नयाँ नयाँ स्वाद चाख्न खोजिरहेका हुन्छन्। सोही अनुसार रंगकर्मिले नयाँ नयाँ परिकार तयार गर्नु भएको छ। प्रबिधिको प्रयोग गर्नुभएको छ।

जसले गर्दा नाटक सर्व स्वाकार्य भएको छ। विश्व रंगमन्चको छेउछाउमा नेपाली रंगमन्च पनि उभिन सकेको छ। यो सुखद पक्ष हो’ शर्मा अगाडि भन्छन् ‘रंगकर्मीको अवस्था यहाँ मात्र होईन, सबैतिर यस्तै हो। यो पेसामा आउने नै दुःख गर्न हो। अरु ब्यावसायजस्तो यस्मा आर्थिक स्थिति बलियो छैन। अधिकाशं रंगकर्मीले दुःख भित्र सुख खोजिरहेका छन। स्वाभिमानी छन्, खुसी छन्।’

धेरै रंग प्रतिभा पलायन भईरहेका छन्, आर्थिक पक्ष उकास्नै नसकेर हो त? रंगकर्मी शर्माको भनाई छ ‘अवश्य पनि त्यो महसुस हुन्छ। ऊ नाट्यकर्मीको अलवा कसैको छोरा हो, छोरी हो, श्रीमान हो, श्रीमती हो। कसैको आमा हो, बाबू हो। उस्को पछाडी उस्को परिवार हुन्छ, परिवारप्रतिको दायित्व हुन्छ। जब जिम्मेवारीले गाँजेर आउँछ, तब उस्ले पेशा परिवर्तन गर्नुलाई मैले नराम्रो रूपमा लिएको छैन। यसरी प्रतिभा पलायन हुँदा अवश्य पनि दुःख लाग्छ।’

सरस्वती सोध्छिन् ‘हामीकहाँ तीन महिना, छ महिना नाटकको तालीम लिएर नाटक गर्ने परिपाटी छ, एउटाको प्रतिभाको लागि तालिम कत्तिको आवश्यक छ?’ नेपाली फिल्म क्षेत्रका ‘वासुदेव’ शर्मा भन्छन् ‘एकदम आवश्यक छ। तालिमले ब्यक्तिको प्रतिभामा निखारता ल्याउँछ। तपाईंले प्रवेश गर्न चाहेको क्षेत्रको बारेमा जानेर बुझेर जानुहुन्छ भने त्यसले तपाईंलाई मदत नै गर्छ। प्रतिभा हुनु राम्रो पक्ष हो, त्यसलाई अझ मजबुत र सुदृढ तालिम तथा प्रशिक्षणले गर्छ।’

 

प्रतिक्रिया दिनुहोस्