आर्यनलाई वल्र्ड बुक अफ रेकर्ड अवार्ड



काठमाडौं, (नेस)
नेपाली बाल कराते खेलाडी आर्यन रन्जितले वल्र्ड बुक अफ रेकर्ड, युके अवार्डबाट मंगलबार सम्मानित भएका छन्। उनलाई गुठी संस्थानका अध्यक्ष मीनराज चौधरी र वल्र्ड बुक अफ रेकर्ड, युके, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले प्रमाण पत्र हस्तान्तरण गरेका हुन्।

सानो उमेरमै खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै आर्यनलाई उक्त अवार्डबाट सम्मान गरिएको बताइएको छ। खेलकुद क्षेत्रबाट नेपालमा सम्मानित हुने आर्यन पहिलो भएको उनका पिता सञ्जयले बताएका छन्।

त्यसका लागि नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका अध्यक्ष किसनराज सिंहले पहल गरेको बताइएको छ। आर्यनले नेपालमा भएको विभिन्न पाँच अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेलेका छन्। पाँचैमा उनले स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडी भएका थिए।

भारतमा भएको दुई अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नौ वर्षीय आर्यनले दुवैमा स्वर्ण जितेका थिए। सिंगापुरमा भएको प्रतियोगितामा भने तेस्रो भए। आर्यनले थाइल्यान्ड र मलेसियामा भएको प्रतियोगितामा पनि सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्