मेसीले बार्सिलोना छाड्न सक्ने



लन्डन, (एजेन्सी)
च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलमा बायर्न म्युनिखसँग ८–२ को ठूलो हारपछि बार्सिलोनाका लियोनेल मेसीले क्लब छाड्न सक्ने जनाइएको छ। ब्राजिलको स्पोर्टस् च्यानेल स्पोर्ट इन्टरटिभोका अनुसार मेसी कुनै दोस्रो क्लब जान चाहेका छन्। यदि, यस्तो भएमा उनको बार्सिलोनासँग २० वर्षको लामो सम्बन्ध टुट्नेछ।

लियोनेल मेसी इंग्लिस क्लब म्यानचेस्टर सिटी वा पे्रmन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग अनुबन्ध हुने खबर आइरहेको छ। यदि, बार्सिलोनामै राख्ने ईच्छा भएमा मेसीलाई क्लबले ठूलो रकमको प्रस्ताव ल्याउनुपर्ने हुन्छ। तर, कोरोना भाइरसका कारण आर्थिक मन्दी भएपछि क्लबसँग धेरै रकम पनि छैन। गत वर्ष मात्र ग्रिजम्यान, कोटिन्हो र डेम्बेलेलाई भित्र्याउँदा नै करोडौं रकम खर्च भइसकेको छ।

अर्जेन्टिनी स्ट्राइकरले १३ वर्षको उमेरमा सन् २००० मा पेपर नेपकिनमा बार्सिलोनासँग सम्झौता गरेका थिए। उनले टोलीलाई १० ला लिगा र ४ च्याम्पियन्स लिगसँगै ३४ उपाधि दिलाएका छन्। उनले गएको ३० जुनमा ७ सय गोल गर्ने विश्वका सातौं खेलाडी बन्न सौभाग्य प्राप्त गरेका छन्। यसमा क्लबका लागि ६ सय ३० र उनको देशका लागि ७० गोल सामेल छ। सबैभन्दा बढी गोल गर्ने कीर्तिमान अस्ट्रियाका जोसेफ बिकनको नाममा छ। बिकनले ८ सय ५ गोल गरेका थिए।

यी चार क्लबको होड
म्यानचेस्टर सिटीः सिटी च्याम्पियन्स लिगबाट अलग भइसकेको छ। यसपटक घरेलु लिग पनि जित्न सकेन। टोली कमजोर भएको अवस्थामा टोलीका मेनेजर पेप गार्डिओलाले मेसीलाई ल्याएर घरेलु र युरोपियन च्याम्पियन बनाउन चाहेका छन्।

इन्टरमिलानः मेसीको प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो इटालीको क्लब युभेन्ट्सबाट खेल्छन् । यस्तोमा इन्टरमिलानले मेसीलाई ल्याएर फेरि एकपटक यी दुईमा क्लब प्रतिद्वन्द्ध शुरू गर्न चाहेको छ। मेसीका पुराना साथी जेभियर जानेटी बोर्डका उपाध्यक्ष छन्।

नेभेल्स ओल्ड ब्वायजः यो अर्जेन्टिनाको क्लब हो, जहाँबाट मेसीले शुरुआत गरेका हुन्। उनले ६ वर्षको उमेरमा यस क्लबसँग अनुबन्ध भएका थिए।

अल सादः कतारको क्लब अल सादका मेनेजर बार्सिलोनाका पूर्वकप्तान जाभी हुन्। जाभी र मेसीको सम्बन्ध राम्रो भएकोले उनी अलसादसँग पनि अनुबन्ध हुन सक्ने सम्भावना छ। त्यस्तै, कतारमा विश्वकप पनि हुँदै छ। क्लबले मेसीलाई भित्र्याएर विश्वकपको वातावरण राम्रो बनाउन चाहन्छ।

प्रतिक्रिया दिनुहोस्