युनाइटेड बार्सिलोनाका खेलाडी भित्र्याउने योजनामा



लन्डन, (एजेन्सी)
म्यानचेस्टर युनाइटेडले बार्सिलोनाका ओसमाने डेम्बेले, अर्टुरो भिडाल, इभान राकिटिच र सेम्युल उमटिटीलाई क्लबमा भित्र्याउने योजना गरेको एक रिपोर्टले जनाएको छ। ला लिगा महारथीका खेलाडीलाई यही समरमा अनुबन्ध गर्ने इंग्लिस प्रिमियर लिग क्लबको योजना रहेको छ।

मुन्डो डिपोर्टिभोका अनुसार युनाइटेडले डेम्बेले र उमटिटीलाई अनुबन्ध गर्न बार्सिलोनासँग सम्पर्क गरिसकेको छ। युनाइटेडका मेनेजर ओले गनर सोल्सायरले यी खेलाडीलाई ल्याएर टोली सन्तुलित हुने आशा गरेका थिए। युरोपा लिगको निराशाजनक बहिर्गमनले पनि सोल्सायरका लागि खेलाडी भित्र्याउनुपर्ने दबाब परेको हो।

युनाइटेडले बोरुसिया डर्टमुन्डका जाडोन सान्चोलाई क्लबमा अनुबन्ध गर्न खोजिरहेको थियो। तर, दुई क्लबबीच पैसाकै कारण सम्झौता हुन सकेको थिएन। सान्चो नपाएपछि युनाइटेडले डेम्बेलेलाई विकल्पको रूपमा हेरेको छ। बार्सिलोनासँग सस्तोमा सम्झौता हुने युनाइटेडको आशा रहेको छ। बार्सिलोनाले पनि डेम्बेलेलाई बचाउन तयार भएको स्रोतले जनाएको छ।

उमटिटी बार्सिलोनाका नियमित खेलाडी हुन्। तर, घुँडाको समस्याले गर्दा अघिल्ला दुई सिजनमा उनको खेलमा असर परेको छ। हाल उनी अनिश्चित भविष्यको सामना गरिरहेका छन्। उनी युनाइटेडमा अवतरण हुने धेरै सम्भावना बनेको छ।

राकिटिचले जनवरीमा युनाइटेडमा आबद्ध हुन कुनै चासो नभएको बताएका थिए। तर, सोल्सायरले उनलाई लालचा दिएर चासो लिन सफल भएका छन्। भिडालको भने बार्सिलानोसँग १ वर्षको सम्झौता बाँकी छ। यति खेलाडी भित्र्याएपछि लिभरपुल र म्यानचेस्टर सिटीसँग अर्को सिजनमा प्रतिस्पर्धा गर्न सक्षम हुने सोल्सायरले विश्वास लिएका छन्।

सोल्सायर आएदेखि युनाइटेडको प्रदर्शनमा सुधार भएको छ। तर, बीबीसी स्पोर्टस् पण्डितहरूले भने युनाइटेड त्यो स्तरमा पुगेको छैन जुन सिटी र लिभरपुलको स्तरमा रहेको छ। यस सिजनमा पनि युरोपा लिगको सेमिफाइनलमा सेभिलासँग पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस्