पिएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा



एजेन्सी ।

पेरिस सेन्ट जर्मन पिएसजी आफ्नो क्लब इतिहासमै पहिलोपटक युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुग्न पनि सफल भएको छ । पिएसजी जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेसँगै नयाँ इतिहास बनाएको हो । पिएसजीले सेमिफाइनलमा जर्मन क्लब आरबी लेइपजिगमाथि ३–० को प्रभावशाली जित निकाल्दै उपाधि नजिक पुगेको छ ।

पोर्चुगलको लिस्बन सहरस्थित इस्टाडियो डा लुइज रंगशालामा बुधबार बिहान भएको खेलमा पिएसजीले एकपक्षीय जित निकाल्दै फाइनलमा स्थान तय गर्न सफल भयो । पिएसजीलाई सहज जित दिलाउनेक्रममा ३ जना खेलाडीले गोल गरे । पिएसजीले खेलको १३औं मिनेटमै अग्रता लिएको थियो । एन्डजल डि मारियाको फ्रि किक प्रहामा मार्किन्वसले हेडिङमार्फत् सुन्दर गोल गरेका थिए ।

उनले अन्तिम आठमा पनि गोल गरेका थिए । उनको गोलअघि नेइमार एक सहज अवसरमा चुकेका थिए । त्यस्तै, खेलको ४२औं मिनेटमा एन्जल डि मारियाले गोल गरेर टिमलाई २–० को अग्रता दिलाए । उक्त गोल नेयमारको असिस्ट गरेका थिए । त्यसपछि खेलको ५६औं मिनेटमा पिएसजीका लागि जाउन बर्नाटले तेस्रो गोल गरे । सो गोलमा डि मारियाले असिस्ट गरेका थिए ।

बर्नाटको प्रहारले पोस्टको दिशा लिँदै गर्दा नेयेमारले पोस्ट लाइनबाट सो बललाई प्रहार गरे पनि सो गोल बर्नाटकै नाममा दिइएको थियो । यता, लेइप्जिगले पनि दर्जनौंपटक आक्रमण बुने पनि पिएसजीको रक्षापंक्ति तोड्न सकेन । लेइप्जिगका खेलाडीले दुईपटक सहज अवसर चुकाउँदा पिएसजी खेलमा अघि बढेको थियो ।

उक्त जितपछि कोरोना भाइरसको परवाह नगरी पिएसजीका समर्थकहरुले पेरिसको सडकमा हुल गरी खुसियाली मनाएका छन् । कोरोनाका कारण भिडभाड गर्न निषेध गरिए पनि समर्थकहरुले सडकमा हुल गरेपछि प्रहरीले भिडलाई नियन्त्रण गर्न अश्रुग्यास समेत प्रहार गर्नुपरेको थियो ।

पिएसजीले अब बुधबार राति हुने जर्मन क्लब बार्यन म्युनिख र फ्रेन्च क्लब लियोनको दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ । फाइनल २४ अगस्टमा लिस्बनमा रहेको इस्टेडियाओ डा लुइज रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्