खेलाडीको समस्यामा सरकारको बेवास्ता



इलाम, (नेस)
यतिखेर कोरोनाले गर्दा धेरै खेलाडीहरू खेल क्षेत्रबाट पलायन हुने अवस्था आएको छ। खेल क्षेत्रलाई व्यावसायिक बनाउने सपना बोकेका खेलाडीको भविष्य अन्योलमा छ। खेलाडीको अवस्था के कस्तो छ र उनीहरू कस्तो समस्यामा छन् भन्ने बारेमा तीनै तहको सरकार अनविज्ञ छ। कोरोनाले देशको खेलकुद क्षेत्र ठप्प भइरहेको अवस्थामा इलाम पनि यसबाट अछँतो छैन। विगत पाँच महिनादेखि इलामका खेलमैदानहरू सुनसान छन् भने खेलाडीहरू गुमनाम बनेका छन्।
इलाममा बढीजसो फुटबल खेल हुने भए पनि अहिले ठप्प छ। गाउँ–गाउँमा हुने फुटबल खेलमा स्थानीय खेलाडीहरूको किनमेल निकै हुने गर्दथ्यो। उनीहरूको थोरै भए पनि आम्दानीको स्रोत बनेको थियो फुटबल। तर, अहिले फुटबलसहित सबै खेल ठप्प हुँदा उनीहरूको आम्दानीको स्रोतसमेत गुमेको छ। जिल्लास्तरका विभिन्न क्लबमा रहेका धेरै खेलाडीहरू जिल्लास्तरमै भए पनि व्यावसायिक फुटबलर बन्दै थिए। तर, उनीहरूमा कोरोना प्रमुख बाधक बनेर उभिएको छ। जसले गर्दा जिल्लामा उत्पादन हुँदै गरेको मजबुत फुटबल कमजोर बन्ने स्थितिमा पुगेको छ।
यसैक्रममा खेलाडीहरूको हौसला बढाउनका साथै व्यावसायिक फुटबल क्षेत्रमा फर्कन प्रेरणा मिलोस् भनेर खेलाडीलाई राहत वितरण गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा इलाम जिल्लाका २४ जना खेलाडीलाई सदरमुकाममा बिहीबार राहत रकम वितरण गरिएको छ। जिल्ला फुटबल संघ इलामको समन्वयमा एन्फाले २४ जना खेलाडी, पाँचजना फिफा रेफ्री र एकजना प्रशिक्षकलाई जनही २५ सय रकम वितरण गरेको हो।
जिल्लामा रहेका १३ वटा फुटबल क्लबमा आबद्ध खेलाडी, फिफा रेफ्री र एकजना प्रशिक्षकलाई राहत रकम वितरण गरेको हो। विश्व फुटबल महासंघ (फिफा) तथा एन्फाले खेलाडीको मनोबल बढाउनुका साथै थोरै भए पनि उनीहरूलाई आफ्नो खर्च धान्न सहयोग पुगोस् भनेर राहत रकम वितरण गरिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्