कीर्तिमानका धनी क्रिकेटर धोनी



नयाँदिल्ली, (एजेन्सी)
भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीले भारतको स्वतन्त्रता दिवसको अवसरमा संन्यासको घोषणा गरेका छन्। ३९ वर्षीय एमएस धोनीले बढी परिचित भएका अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिएका छन्। एमएस धोनी भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तानसमेत हुन्।

धोनीले भारतलाई आईसीसीअन्तर्गत तीनवटै फरम्याटमा उपाधि दिलाएका छन्। सन् २००७ मा टी २० र २०११ मा ५० ओभरको विश्वकपसहित च्याम्पियन्स ट्रफी भारतलाई दिलाएका थिए। ३ वटै फरम्याटमा उपाधि दिलाउने उनी विश्वकै एक्लो कप्तानसमेत हुन्।

धोनीले उनको १५ वर्षको क्रिकेटर करियरमा जुन कीर्तिमान कायम गरे त्यसको बराबरी गर्न कसैका लागि सहज हुने छैन। उनले भारतलाई पहिलोपटक टेस्ट खेलमा नम्बर एक टोली बनाएका थिए। धोनीका धेरै कीर्तिमान छन्, यसमध्ये २० कीर्तिमान यहाँ प्रस्तुत गरिएको छ।

धोनीले सन् २००५ मा श्रीलंकाविरुद्ध वानडेमा १ सय ४५ बलमा १ सय ८३ रनको इनिङ खेलेका थिए। यो कुनै पनि विकेटकिपरले जोडेको व्यक्तिगत उच्चतम रन हो। सो इनिङमा उनले १५ चौका र १० छक्का लगाएका थिए। दोस्रो स्थानमा रहेका अस्टे«लियाका विकेटकिपर एडम गिलक्रिस्टले १ सय ७२ रन बनाएका थिए।

धोनीले छैठौं नम्बरमा ब्याटिङ गरेर वानडेमा सबैभन्दा धेरै रन बनाएका थिए भने उनले प्रायजसो खेलमा ६ र ७ नम्बरमा ब्याटिङ गरेको पाइन्छ। उनले ६ नम्बरमा ब्याटिङ गरेर सबैभन्दा बढी ४ हजार ३१ रन बटुलेका थिए। यो कीर्तिमान जोसुकैलाई तोड्न पनि मुस्किल छ।

धोनी आईसीसी वानडे ¥याङकिङमा सबैभन्दा छिटो नम्बर एक ब्याट्सम्यान बने। उनले ४२ इनिङ पछि सन् २००८ मा विश्वका नम्बर एक ब्याट्सम्यान बनेका थिए। उनको यो कीर्तिमान आजसम्म पनि कायमै छ। धोनीले यो उपलब्धि पाकिस्तानविरुद्ध १ सय ४८ र श्रीलंकाविरुद्ध १ सय ८३ रन बनाएर पाएका थिए।

धोनी हेलिकोप्टर सटका लागि विश्वभरि चर्चित छन्। यदि, उनको ब्याट हेलिकोप्टर सटका लागि घुम्छ तब बलले बाउन्ड्री पार गर्छ। उनले छक्का प्रहार गर्नेमा पनि कीर्तिमान राखेका छन्। उनी २ सय ११ छक्कासहित सर्वाधिक छक्का लगाउने कप्तान पनि बनेका छन्। दोस्रो नम्बरमा रहेका अस्टे«लियाका पूर्वकप्तान रिकी पोन्टिङले पनि १ सय ७१ पटक बाउन्ड्री पार गराएका थिए।

धोनीले छक्का प्रहार गरेर ९ पटक वानडेमा भारतलाई जित दिलाएका छन्। यस्तो गर्ने उनी एक्लो ब्याटसम्यान हुन्। समग्रमा छक्काको कुरा गर्ने हो भने धोनीले वानडे, टी–२० र टेस्ट खेलमा गरी ५ सय ३८ खेलमा कुल ३ सय ५९ छक्का प्रहार गरेका छन्। यो विश्वको सर्वाधिक छक्का प्रहार गर्ने सूचीमा पाँचौं नम्बरमा पर्छ।

धोनी विश्वकपमा छक्का प्रहार गरेर उपाधि दिलाउने विश्वका एक्लो खेलाडी हुन्। उनले भारतलाई २०११ को विश्वकपमा छक्का प्रहार गर्दै उपाधि दिलाएका थिए। उनले श्रीलंकाविरुद्धको फाइनल खेलमा ९१ रनको नटआउट इनिङ खेलेका थिए।

धोनी अस्टे«लियालाई उसकै धर्तीमा २०१६ मा खेलेको टी–२० सिरिज ३–० ले क्लिन स्विप गरेका थिए। उनी अस्टे«लियाको धर्तीमा टी–२० सिरिज क्लिन स्विप गर्ने १ सय ४० वर्षको इतिहासमा पहिलो कप्तान बन्न पुगे। सो सिरिजमा तीनै खेलमा अर्धशतक लगाएका वर्तमान कप्तान विराट कोहली म्यान अफ द म्याच घोषित भएका थिए।

त्यस्तै, वानडेमा सबैभन्दा नटआउट रहेर उनले कीर्तिमान राखेका छन्। उनी ८४ पटक नटआउट रहेका थिए। जब स्टम्पिङको कुरा आउँछ त्यसमा पनि धोनीको नाम अगाडि नै आउँछ। उनी जस्तो चलाख विकेटकिपर हालसम्म आएका छैनन्। यसैले उनले स्टम्पिङ गरेर विपक्षीका धेरै खेलाडीलाई आउट गरेका छन्। उनले वानडेमा १ सय २०, टी–२० मा ३३ र टेस्टमा ३८ गरी कुल १ सय ९१ जना खेलाडीलाई स्टम्पिङको शिकार बनाएका छन्।

धोनी भारतकै सबैभन्दा सफल विकेटकिपर पनि हुन्। उनी तीनै फरम्याट (टेस्ट, वानडे र टी २०) मा भारतका सबैभन्दा सफल विकेटकिपर हुन्। उनले टेस्ट खेलमा २ सय ९४ जनालाई आउट गरेका छन्। त्यस्तै, वानडेमा ४ सय ३४ जना ब्याट्सम्यान र टी २० मा ८७ जना ब्याट्सम्यानलाई पवेलियन फर्काएका छन्। टी २० को सो विश्व कीर्तिमान भने तोड्न कठिन छ।

धोनी ५० भन्दा बढी औसतसहित १० हजार रन बनाउने पहिलो ब्याट्सम्यान पनि हुन्। उनले ३ सय ५० वानडेमा ५० दशमलव ५७ औसतले १० हजार ७ सय ७३ रन बनाएका छन्। यो उपलब्धि सचिन तेन्दुलकर र रिकी पोन्टिङजस्ता खेलाडीले पनि हासिल गर्न सकेनन्।

धोनी टी २० अन्तर्राष्ट्रिय खेल बढी जित्ने पहिलो कप्तान हुन्। सन् २००७ मा टी २० विश्वकप क्रिकेट जितेपछि उनको कप्तानीमा ७२ खेल खेलिएकोमा ४१ टी २० खेल जितेका थिए। यो कीर्तिमान नजिक कोही पनि छैनन्। दोस्रो नम्बरमा आयरल्यान्डका कप्तान विलियम पोर्टरफिल्ड पर्छन्। उनले ५६ खेलमा २६ खेल जितेका छन्।
धोनी भारतीय घरेलु लिग आईपीएल ९ पटक फाइनल खेल्ने एक्लो खेलाडी हुन्। उनले उनकै कप्तानीमा सबैभन्दा बढी १ सय ७४ आईपीएल खेल खेले।

यसको अलावा आईपीएलमा कप्तानको रूपमा सबैभन्दा बढी १ सय ४ खेल जितेका थिए। उनले चेन्नई सुपर किंग्सलाई तीनपटक आईपीएल उपाधि दिलाएका थिए।

धोनी भारतीय टोलीलाई २००९ मा टेस्ट खेलमा पहिलो नम्बरमा पु¥याएका थिए। यस्तो गर्ने उनी पहिलो भारतीय कप्तान हुन्। धोनीले ९० टेस्टमा ४ हजार ८ सय ७६ रन बनाएका छन्। उनले ३० डिसेम्बर २०१४ मा टेस्ट फरम्याटबाट संन्यासको घोषणा लिएका थिए।

धोनीले भारतीय टोलीका लागि वानडे, टेस्ट र टी २० तीनै फरम्याटमा गरी ३ सय ३२ खेलमा कप्तानी गरेका थिए। यतिका खेलमा कप्तानी गर्ने उनी विश्वकै पहिलो खेलाडी बनेका छन्। यो सूचीमा दोस्रो नम्बरमा पूर्वक्रिकेटर रिकी पोन्टिङको नाम आउँछ। अस्टे«लियाका पूर्वकप्तानले टोलीका लागि ३ सय २४ खेलमा कप्तानी गरेका छन्।

धोनीले भारतीय टोलीलाई कप्तानीको रूपमा वानडे, टेस्ट र टी २० तीनै फरम्याट गरी १ सय ७८ खेलमा जित दिलाएका छन्। यो उपलब्धि हासिल गर्ने उनी पहिलो भारतीय कप्तान हुन् । उनले २ सय वानडेमा १ सय १० खेलमा जित दिलाए भने ६० टेस्टमा २७ खेलमा जित दिलाएका छन्। टी २० मा भने उनले जम्मा ४१ खेलमा जित दिलाए।

धोनीको करियर र जीवनलाई लिएर बायोपिक चलचित्र पनि बनेको छ। अनटोल्ड स्टोरी एमएस धोनी नामक बायोपिक चलचित्रलाई सबैलाई मन पराएका थिए। कुनै पनि क्रिकेटरको बारेमा बायोपिक चलचित्र बनेको यो पहिलो घटना हो। यसरी बायोपिक चलचित्र बन्ने उनी पहिलो क्रिकेटर बनेका छन्। यसबाटै सुशान्त सिंह राजपुत बलिउडमा जमेका थिए। तर, उनले हालै आत्महत्या गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्