इन्टर मिलान युरोपा लिग फुटबलको फाइनलमा



एजेन्सी ।

इटालियन क्लब इन्टर मिलान युरोपा लिग फुटबलको फाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार बिहान भएको दोस्रो सेमिफाइनलमा युक्रेनी क्लब शाख्तर डोनेट्स्कमाथि ५–० को फराकिलो जित निकाल्दै इन्टर मिलान उपाधि नजिक पुगेको हो । जर्मनीमा जारी प्रतियोगितामा एन्टोनियो कोन्टेको टिम मिलानलाई एकपक्षीय जित दिलाउने क्रममा फरवार्डद्वय रोमेलु लुकाकु र लोटारो मार्टिनेज नायक बने । उनीहरूले दुई-दुई गोलको योगदान दिए ।

कूल ५ गोलमध्ये मिलानले पहिलो हाफमा १ गोल गरे भने बाँकी ४ गोल दोस्रो हाफमा गरेको थियो । मिलानले खेलको १९औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजको गोलबाट अग्रता लिएको थियो । उनले निकोला बरेल्लाको क्रस पासमा हेडिङमार्फत् गोल गरेका थिए ।

त्यस्तै, ६४औं मिनेटमा ड्यानिलोले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ७४औं मिनेटमा मार्टिनेजले नै लुकाकुको पासमा टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि मिलान स्पष्ट जिततर्फ अघि बढेको थियो । त्यसपछि बेल्जियमका स्टार लुकाकुले ६ मिनेटको बीचमा २ गोल गरे ।

उनले खेलको ७८औं मिनेटमा पहिलो गोल गरे भने ८३औं मिनेटमा दोस्रो गोल गरेपछि खेल मिलानले ५–० ले जित्यो । तीनपटकको युरोपा लिग च्याम्पियन मिलानले अब फाइनलमा उपाधिका लागि स्पेनिस क्लब सेभियासँग खेल्नेछ । फाइनल खेल शुक्रबार राति हुनेछ । यस अघि सोमबार बिहान भएको खेलमा सेभिया इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई हराउँदै फाइनल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्