युनाइटेडलाई स्तब्ध पार्दै सेभिया फाइनलमा



एजेन्सी ।

इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै स्पेनिस क्लब सेभिया युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेकाे छ ।

प्रतियोगिता अन्तर्गत नेपाली समयअनुसार सोमबार बिहान भएको गत सेमिफाइनलमा सेभियाले यस सिजनको प्रमुख उपाधि दावेदार मानिएको युनाइटेडलाई २–१ गोलअन्तरले हराउँदै फाइनल पुगेको हो ।

जर्मनीको कोलोग्ने सहरस्थित रेहिम इनर्जी स्टेडियममा भएको पहिलो सेमिफाइनलमा सेभियाले उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेडको उपाधि जित्ने सपनामाथि तुषारापात गरिदियो ।सेभियाविरुद्ध युनाइटेडका खेलाडी पटक–पटक फिनिसिङमा चुक्दा हार‌को सामना गर्नुपर्‍यो ।

युनाइटेडले खेलको नवौं मिनेटमा पेनाल्टीमार्फत् अग्रता लिएको थियो । युनाइटेडका मार्कुस रासफोर्डलाई सेभियाका खेलाडीले आफ्नो डी एरियामा फाउल गरेपछि पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेजले गोल गर्दै १–० को अग्रता दिलाएका थिए ।

तर, त्यसपछि सेभिया खेलमा फर्कियो । २६औं मिनेटमा सेभियाका लागि सुसोले बराबरी गोल फर्काए । सर्जियो रेगुइलियोनको क्रस पासमा उनले बिना गल्ती तल्लो बार च्याप्दै बललाई जाली चुमाएपछि खेल १–१ को स्थितिमा पुगेको थियो ।

त्यसपछि दुवै टोलीले गोलको लागि भरमग्दुर प्रयास जारी राखे । त्यसक्रममा युनाइटेडले खेलमा प्रशस्तै अवसर सिर्जना गरेपनि सेभियाका गोलकिपर बाधक बनेका थिए । युनाइटेडका थुप्रै आक्रमणलाई उनले विफल पारे । त्यसैक्रममा खेलको ७८औं मिनेटमा सेभियाले दोस्रो गोल थप्यो ।

नाभासले बक्सभित्र दिएको क्रस पासमा सेभियाका लुका डे जोङले वान टचमा गोल गरेपछि खेलमा सेभियाले २–१ ले अग्रता लियो । त्यसपछि बाँकी रहेको समयमा दुवै टोलीबाट गोल नभएपछि सोही गोल नै खेलको निर्णायक समेत सावित बन्यो । सेभियाले अब उपाधिका लागि सोमबार राति हुने इन्टर मिलान र सख्तर दोनेस्कबीच हुने दोस्रो सेमिफाइनलको बिजेतासँग फाइनलमा भिडन्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्