पर्सामा कोरोना संक्रमित घट्दै,निको हुनेहरु बढ्दै



कृष्णउदास खनाल,वीरगन्ज ।

पर्सामा एक पत्रकारसहित थप ४५ जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति आएको पीसीआर रिपोर्टमा पर्साका ४५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो । संक्रमित हुनेमा ८ वर्षका बालकदेखि ७० वर्ष उमेरका का ३५ जना पुरूष र १० जना महिला रहेका छन् ।एभिन्युज टेलिभिजनका पर्सा जिल्ला संवाददाता राजन रौनियारमा पनि संक्रमण भेटिएको हो ।

यस्तै नारायणी अस्पतालमा कार्यरत ७ जना कर्मचारी, प्राइम फर्मा उद्योगका ६ जना पुरुष कर्मचारी, बयोधा अस्पतालका ३ जना कर्मचारी, नारायणी अस्पतालको आइसियूमा अपचाररत २२ वर्षका १ जना पुरुष र ४२ वर्षका १ जना मृगौला रोगीमा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर डाक्टर नीरज सिंहले जानकारी दिनुभयो ।

वीरगन्ज महानगरपालिकाको विभिन्न वडाका १३ जना सर्वसाधरण र पर्सा जिल्लाको पोखरिया नगरपालिकाको विभिन्न वडाका १२ जना, पर्सा जिल्लाकै बहुदरमाइ नगरपालिका वडा नम्बर ९ भौराटारका २३ वर्षका १ जना पुरुषमा पनि शनिबार राति संक्रमण पुष्टि भएको छ ।

थप एकको मृत्यु

वीरगन्जको नारायणी अस्पतालमा शनिबार बिहान मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिकाको अठराहा सुगौलीका ४५ वर्षीया पुरुषको शनिबार बिहान ७ बजे तिर मृत्यु भएको थियो। मृत्युपछि उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि नारायणीकै प्रयोगशालामा पठाइएको थियो ।

प्रयोशगशालाबाट शनिबार दिउँसो २ बजे प्राप्त रिपोर्टमा ती मृतक पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो । शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या आएपछि परिवारले उनलाई बिहान नारायणी अस्पतालमा ल्याएर भर्ना गराएका थिए ।

१० दिनदेखि ज्वरो र खोकीले ग्रस्त उनमा शनिबार बिहान अचानक श्वास फेर्न गाह्रो भएपछि अस्पतालमा ल्याइए लगत्तै उनको मृत्यु भएको डाक्टर सिंहले बताए। योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ। साउनमा मात्रै २३ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका २६ मध्ये पर्साका २०, बाराका ५ र रौतहटका १ छन् । जेठ ३१ गते वीरगन्जको घण्टाघरमा मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन ।

निको हुनेहरु बढ्दै

वीरगन्जमा कोरोनालाई जितेर दुई दिनमा ७० जना संक्रमित कोभिड अस्पतालबाट डिस्चार्ज भएका छन्।कोरोनाले आक्रान्त बनेको वीरगन्जमा पछिल्लो समय संक्रमितको संख्या दैनिक थपिँदै गए पनि दुई दिनमा ७० जना डिस्चार्ज भएका हुन्। वीरगन्जमा रहेका वीरगन्ज हेल्थ केयर र गण्डक अस्थायी कोभिड अस्पतालबाट शुक्रबार साँझ र शनिबार साँझ गरेर ७० जना डिस्चार्ज भएका हुन्।

वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालबाट शनिबार साँझ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसीया, वीरगन्ज कारगारका प्रमुख श्रवण पाखरेल, वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुसहित ३४ जनालाइ डिस्चार्ज गरिएको अस्पतालका सन्चालक डाक्टर अबुल हैश अन्सारीले जानकारी दिनुभयो ।

शनिबार साँझ ८ देखि ६५ वर्ष उमेर समूहका ७ महिला र २७ पुरुष गरेर ३४ जना डिस्चार्ज भएको अन्सारीले बताउनुभयो । ती मध्ये डायलासिस उपचार सेवा लिइरहेका दुई मिर्गौला रोगी महिला पनि रहेको अन्सारीले बताउनुभयो । शनिबार साँझ डिस्चार्ज भएका ३४ मध्ये पर्सा घर भएका ३२ जना हुन्।

धादिङ घर भएका १ प्रहरी र झापा घर भएका वीरगन्ज कारागारका प्रमुख श्रवण पोखरेल रहेको डाक्टर अन्सारीको भनाइ छ । अन्सारीका अनुसार, कोभिड अस्पतालमा ल्याएर राखिएपछिको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएका ३४ जनालाइ शनिबार साँझ डिस्चार्ज गरिएको हो।

यसअघि शुक्रबार साँझ पनि वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालबाटै २८ संक्रमित डिस्चार्ज भएका थिए। शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज हुनेमा २७ जना पर्साका र १ जना बाराका थिए।शुक्रबार साँझ नै गण्डकस्थित अर्को अस्थायी कोभिड अस्पतालबाट पनि ८ संक्रमित निको भएर डिस्चार्ज भएका थिए।

प्रतिक्रिया दिनुहोस्