लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा



एजेन्सी ।

फ्रेन्च क्लब लियोन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रमुख उपाधि दावेदार मानिएको इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोलअन्तरले हराउँदै लियोन प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । पोर्चुगलको राजधानी लिस्बनस्थित स्टाडियो जोसे अल्भालाडे रंगशालामा आइतबार बिहान भएको खेलमा आफ्ना केही गल्ती सिटीका लागि महँगो साबित बनेपछि प्रतियोगिताबाटै बाहिरिनुपर्‍यो ।

तुलनात्मक रूपमा कमजोर मानिएको लियोनविरुद्ध सिटीले केही उत्कृष्ट मौकामा गोल गर्न नसक्दा हारको सामना गर्नुपर्‍यो । लियोनका लागि खेलको २४औं मिनेटमा माक्सवेल कोर्नेटले पहिलो गोल गरेका थिए । त्यसपछि सिटीलाई खेलमा फर्कन ६९औं मिनटे कुर्नुपर्‍यो । केभिन डे ब्रुयानेले सिटीका लागि डीबक्स बाहिरबाट निकै आकर्षक गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । तर, त्यसपछि भने सिटीले दुई गोल बेहोेर्यो ।

लियोनका लागि खेलको ७५औं मिनेटमा मेम्फिस डिपेको स्थानमा मैदान प्रवेश गरेका मोउसा डेम्बेले नायक बने । उनले १२ मिनेटभित्र २ गोल गर्दै सिटीको सेमिफाइनल यात्रामा पूर्णविराम लगाइदिए । डेम्बेलेले खेलको ७९औं मिनेटमा गोल गर्दै लियोनलाई २–१ को अग्रता दिलाए ।

सो गोल बेहोरेपछि सिटी ठूलो दवाबमा आएको थियो । बराबरी गोलको खोजीमा भौतारिरहेका सिटीविरुद्ध ९० मिनेटको समय सकिन ३ मिनेट बाँकी छँदा डेम्बेलेले नै व्यक्तिगत दोस्रो गोल गर्दै लियोनको जित पक्का गरेे । समग्रमा उत्कृष्ट रक्षापंक्तिको कला देखाउँदै लियोनले सिटीमाथि ३–१ को प्रभावशाली जित निकाल्दा सिटी भने अप्रत्यासित हारको सिकार बन्यो ।

अब लियोनले सेमिफाइनलमा जर्मन क्लब बार्यन म्युनिखसँग खेल्नेछ । शनिबार बिहान भएको खेलमा बार्यनले बार्सिलोनालाई ८–२ ले हराएर सेमिफाइनल प्रवेश गरेको थियो । अर्को सेमिफाइनल खेल भने फ्रेन्च क्लब पीएसजी र जर्मन क्लब आरबी लेइप्जिगबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्