पूर्व कप्तान धोनी र रैनाले लिए सन्यास



एजेन्सी ।

भारतीय क्रिकेटका दुई दिग्गज खेलाडीले शनिबार सन्यास घोषणा गरेका छन् ।शनिबार पूर्व कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाले सन्यासको घोषणा गरेका हुन् । धोनीले क्रिकेटबाट सन्यास घोषणा गरेको एक घण्टापछि नै सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

भारतीय क्रिकेटको इतिहासमा सफल कप्तान रहेका धोनीले इन्डियन प्रिमियर लिग खेल्नु अगाडी सन्यासको घोषणा गरेका छन् । उनले आफ्नो इन्स्टाग्राममा राखेको भिडियोबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले सो भिडियोबाट सबै समर्थकलाई धन्यवाद दिएका छन् । शनिबार साँझ साँढे सात बजे उनले इन्स्टाग्राममा भिडियो पोष्ट गरेर सन्यासको जानकारी दिएका हुन् ।

छोटो ओभरको खेलमा सर्वाधिक सफल कप्तान रहेका धोनीले भारतलाई आइसीसीका तीनै प्रतियोगिताको उपाधि जितेका थिए । उनको कप्तानीमा सन् २००७ मा टी २० विश्वकप, २०११ मा एकदिवसिय विश्वकप र २०१३ मा आइसीसी च्याम्पियन्स ट्रफिको उपाधि जितेका थिए ।अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि उनले १३ औं संस्करणको आइपीएल भने खेल्ने भएका छन्‌ । उनले २०२२ सम्म चेन्नेईबाट खेल्ने बताएका छन् ।

सन् २०१७ को जनवरीमा एकदिवसिय क्रिकेटको कप्तानबाट राजिनामा दिएका धोनीले २०१४ को डिसेम्बर ३० मा टेष्ट क्रिकेटबाट सन्यास लिएका थिए । ३९ बर्षे धोनीले भारतका लागि तीन सय ५० एकदिवसिय र ९० वटा टेष्ट खेलेका छन् । यस्तै ९८ टी २० खेल खेलका छन् ।

सन् २००७ मा भारतको कप्तान बनेका धोनीले टिमलाई टेष्ट बरियतामा शिर्ष स्थानमा पुर्‍याएका थिए । उनी तीन वटै फरम्याटमा ५० भन्दा बढि खेलमा कप्तानी गर्ने एक्लो खेलाडी हुन । सन् २००४ मा भारतबाट डेब्यु गरेका राँचीका खेलाडी धोनीले सन् २००७ मा दक्षिण अफ्रिकामा भएको टी २० विश्वकपको उपाधि जितेका थिए । धोनीले एकदिवसीय क्रिकेटमा १० हजार सात सय ७३ रन बनाएका छन् । जसमा १० शतक र ७३ अर्धशतक रहेका छन् । त्यस्तै उनले टी २० मा ९८ खेलमा १६१७ रन बनाएका छन् । टेष्टमा उनले ९० खेलमा चार हजार आठ सय ७६ रन बनाएका छन् । जसमा उनको उच्च स्कोर २२४ रन रहेको छ ।

त्यस्तै, सन् २००५ जुलाई ३० तारिखमा श्रीलंकाविरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका रैनाले १८ टेष्टमा सात सय ७८ रन बनाएका छन् । त्यस्तै उनले दुई सय २६ खेलमा पाँच हजार ६१५ रन बनाएका छन् ।त्यस्तै उनले ७८ टी २० खेलमा १६०५ रन बनाएका छन् । उनले टेष्टमा एक तथा एकदिवसीयमा पाँच शतक हिर्काएका छन् । त्यस्तै उनको नाममा टी २० मा पनि शतक रहेको छ ।

रैना धोनीको निकै मिल्ने साथी मानिन्छन् । रैना आइपीएलमा पहिलो सिजन देखि नै धोनीको टिम चेन्नेई सुपर किंग्सबाट खेलिरहेका छन् । रैनाले आइपीएलमा १९३ खेलमा ५ हजार ३६८ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्