विश्वकप टोलीका खेलाडीको स्वाब संकलन



नेपाल समाचारपत्र, काठमाडौं
आगामी विश्वकप २०२२ र एसियन कप २०२३ का छनोट खेलका लागि नेपाली टोलीका खेलाडीको स्वाब संकलन गरिएको छ।

मंगलबार उपत्यकाभित्र रहेका २५ खेलाडीको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा स्वाब संकलन गरिएको एन्फाले जनाएको छ। अघिल्लो दिन ११ खेलाडीसहित २५ जनाकै कोरोना परीक्षण गरिएको थियो। यस्तै, हिजो २३ खेलाडी र ६ पदाधिकारीको कोरोना परीक्षण गरिएको छ। विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोलीबाट ३४ खेलाडीलाई छनोट गरिएको छ।

कोरोनाको नतिजा आएपछि खेलाडीलाई एन्फाको होस्टलमा राखिनेछ। जसमा नेगेटिभ देखिने खेलाडीलाई मात्रै लिइनेछ। उनीहरूका लागि होस्टलबाट कहीं जान दिइने छैन। एन्फाले भदौ १ गतेदेखि राष्ट्रिय टोलीको प्रशिक्षण थाल्ने बताएको छ।

मंगलबार स्वाब संकलन गरिएका खेलाडीमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, अजित भण्डारी, सेसेहाङ आङदेम्बे, अमित तामाङ, अनन्त तामाङ, विशाल श्रेष्ठ, रोहित चन्द, नवयुग श्रेष्ठ, सुमन अर्याल, सुजल श्रेष्ठ, जर्ज प्रिन्स कार्की, विकास खवास, अन्जन विष्ट, अभिषेक रिजाल, सरोज दाहाल, विक्रम लामा, एरिक विष्ट, तेज तामाङ र आशिष लामा छन्।

यसैगरी, अधिकारीहरूतर्फ टिम मेनेजर मधुसूदन उपाध्याय, कृष्णभक्त मानन्धर, गोलकिपर प्रशिक्षक विकास मल्ल, मिडियाकर्मी विवेक सुवेदी र युजल श्रेष्ठ तथा चिकित्सक राजु डंगोलको स्वाब संकलन गरिएको छ।
नेपालको विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा तीन खेल खेल्न बाँकी रहेको छ। नेपालले अस्टे«लिया, चाइनिज ताइपेई र जोर्डनसँग घरेलु मैदानमा खेल्नेछ। नेपालले गत फागुनमा कुवेतसँगको घरेलु मैदानमा खेल्नुपर्ने खेल भुटानमा खेल्नुपरेको थियो। नेपालले यसअघि अवे मैदानमा चार खेल खेलेकोमध्ये एक खेलमा जित हात पारेको थियो। जुन खेल चिनियाँ ताइपेईमाथि २–० को जित थियो।

प्रतिक्रिया दिनुहोस्