स्टार खेलाडीभन्दा अघि छन् म्युरिल



लन्डन, (एजेन्सी)
कोरोना भाइरसका कारण यस वर्ष युरोपका पाँच प्रमुख फुटबल लिग ला लिगा (स्पेन), सिरी ए (इटाली), लिग वान (फ्रान्स), बुन्डेसलिगा (जर्मनी) र प्रिमियर लिग (इंग्ल्यान्ड) करिब तीन महिनाका लागि बन्द भएका थिए। तर, यसमध्ये लिग वान बीचैमा रद्द गरियो भने अन्य चार लिग पुनः सञ्चालन भएर समाप्त पनि भइसकेका छन्।
यति लामो विश्रामपछि शुरू भए पनि स्टार खेलाडीहरू क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र क्लियन एम्बाप्पेजस्ता खेलाडीले राम्रो प्रदर्शन गरेका छन्। २०१९–२० सिजनमा सबैभन्दा गोल प्रहार गर्ने मामिलामा पनि यी खेलाडीहरू अघि छन्। तर, हरेक मिनेटमा गोल गर्ने औसतको मामिलामा यी खेलाडीहरू पछाडि रहेका छन्।
यो सूचीमा ती १० खेलाडीलाई समावेश गरिएको छ, जसको प्रतिमिनेट गोल औसत सबैभन्दा राम्रो छ। यस सिजनमा युरोपका शीर्ष ५ क्लबमध्ये एकको तर्फबाट खेल्दै उनले कमसेकम १० गोल पनि गरेका छन्। आश्चर्य यो छ कि बार्सिलोनालाई च्याम्पियन्स लिगमा लगातार १३औं पटक क्वार्टरफाइनलमा पु¥याएका लियोनल मेसी यो सूचीमा परेका छैनन्।
जबकि, मेसी यस सिजनमा सर्वाधिक गोल गर्ने सूचीमा पाँचौं स्थानमा छन्। हरेक मिनेट गोल गर्ने सूचीमा मेसी १३औं स्थानमा छन्। उनले स्पेनी ला लिगामा हरेक १ सय १५ मिनेटमा गोल गरेका छन्।
यस सूचीमा लुइस म्युरिल सबैभन्दा अघि छन्। सिरी ए क्लब एटलान्टाका लुइस म्युरिलले हरेक ६९ मिनेटमा एक गोल गरेका छन्। उनले ३४ खेल खेल्दै १२४४ मिनेट मैदानमा रहेर १८ गोल गरे।
दोस्रो स्थानमा बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की रहेका छन् भने लेवान्डोस्कीले हरेक ८१ मिनेटमा गोल गरेका छन्। उनले बुन्डेसलिगा ३१ खेलमा ३४ गोल गरे भने उनी २७६१ मिनेटसम्म मैदानमा रहेका थिए।
तेस्रो स्थानमा जर्मन क्लब बोरुसिया डर्टमन्डका स्ट्राइकर अर्लिङ हालंद छन्। उनले २०१९–२० सिजनमा लेवान्डोस्कीले जस्तै हरेक ८१ मिनेटमा एक गोल गरेका छन् भने उनले बुन्डेसलिगामा १५ खेलमा १३ गोल मात्रै गर्न भ्याए।
चौथो स्थानमा फ्रान्सेली क्लब पीएसजीका खेलाडी क्लियन एम्बाप्पे रहेका छन्। उनले २०१९–२० सिजनमा पीएसजीका लागि २० खेलमा १८ गोल गर्दा लिगमा हरेक ८४ मिनेटमा एक गोल गरेका छन्।
यस्तै, यस सिजनमा गोल्डेन बुट जितेको इटाली सिरी ए क्लब लाजियोका खेलाडी सिरो इमोबाइलले सबैभन्दा बढी ३६ गोल गरेका छन्। सो सूचीको पाँचौं स्थानमा रहेका उनले हरेक ८८ मिनेटमा एक गोल गरेका छन्। त्यस्तै, म्यानचेस्टर सिटीका खेलाडी सर्जियो अग्वेरोले हरेक ९१ मिनेटमा एक गोल गरेर छैठौं स्थानमा रहन सफल भएका छन्।
सातौं स्थानमा युभेन्ट्सका खेलाडी क्रिस्टियानो रोनाल्डो रहेका छन्। उनले २०१९–२० सिजनमा सिरी ए मा ३३ खेल खेलेर ३१ गोल गरेका छन्। उनले औसत हरेक ९४ मिनेटमा एक गोल गर्न सफल भएका छन्। हालै सिजनमा सबैभन्दा गोल गर्ने युरोपेली क्लबका खेलाडीमा उनीभन्दा अघि सिरो इमोबाइल र रोबर्ट लेवान्डोस्की मात्रै रहेका छन्।
यसैगरी, आठौं स्थानमा बुन्डेसलिगा क्लब आबरी लिपजिगका खेलाडी टिमो वार्नर रहेका छन्। उनले यस सिजनमा ३४ खेलमा २८ गोल गरेका छन्। उनले हरेक सय मिनेटमा एक गोल गरेका छन्। यस्तै, यस सूचीको नवौं र दसौं स्थानमा क्रमशः पीएसजीका खेलाडीनेमार र माउरो इकार्डी रहेका छन्। नेयमारले हरेक १ सय १ मिनेटमा एक गोल गरे भने इकार्डीले हरेक १ सय ५ मिनेटमा एक गोल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्