क्यामरुनको विश्वकप टोलीले ३० वर्षपछि घर पाउने



लन्डन, (एजेन्सी)
सरकारले वाचा गर्छ, तर पूरा गर्न समय लगाउँछ। यस्तै, क्यामरुनको सरकारले एउटा वाचा ३० वर्षअघि गरेको थियो, जब १९९० विश्वकपमा क्यामरुन टिम क्वाटरफाइनल पुगेको थियो। सो टोलीका खेलाडीलाई घर दिने वचन दिइएको थियो। क्यामरुनी राष्ट्रपति पउल बियाले यही वचन अब पूरा गर्ने भएका छन्।
राष्ट्रपति बियाले वचन सम्झेपछि ३० वर्षअघि गरिएको वाचाअनुसार अब १९९० क्यामरुन टिमका खेलाडीले घर पाउने भएका छन्। तर, यसमध्ये टिमका तीनजना खेलाडी लुइस पउल फेडे, बेन्जामिन मासिङ र स्टेफान टाटावको निधन भइसकेको छ।
टिममा २२ खेलाडीको नामको सट्टा ४४ जना खेलाडीको नाम सूची पठाएपछि घर दिने कार्यमा ढिलाइ भएको त्यहाँका मन्त्रीले बताएका छन् । तर, पूर्वखेलाडीको संघका प्रमुख बर्टिन एबवेलेलेका अनुसार सो वाचा सरकारले बिर्सिएको थियो।
एबवेलेले गत जुनमा राष्ट्रपतिलाई पत्र लेखेर सम्झाएको र राष्ट्रपतिले हस्ताक्षर गरेर हाउजिङ डाइरेक्टरलाई पत्र पठाएका थिए। यसपछि मात्रै खेलाडीहरूले घर पाउन लागेको एबवेलेले बताए हुन्। क्यामरुनको राजधानी याउन्डेमा खेलाडीहरूलाई घर दिइने जनाइएको छ।
इटालीमा सम्पन्न विश्वकप १९९० मा क्यामरुनलाई क्वाटरफाइनलसम्म पु¥याएका प्रमुख खेलाडी रोजर मिलाले घर दिने भएपछि धन्यवाद दिएका छन् । उनी सो टोलीका पाका खेलाडी पनि थिए। मिल्लाले सो विश्वकपमा इंग्ल्यान्डविरुद्ध अन्तिम ८ खेलमा गोल गरेका थिए। तर, गेरी लिनेकरले गोल फर्काएपछि क्यामरुनको विश्वकप यात्रा अन्तिम ८ मै समाप्त भएको थियो। हारे पनि क्यामरुनले विश्वकपमा क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्ने कीर्तिमान राख्न सफल भयो।

 

प्रतिक्रिया दिनुहोस्