सेभिया अन्तिम आठमा प्रवेश



एजेन्सी । इटालियन सिरी ए क्लब रोमालाई हराउँदै स्पेनिस क्लब सेभिया युरोपा लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ अन्तर्गत दोस्रो लेगको खेलमा सेभियाले पाहुना टोली रोमालाई आफ्नो घरेलु मैदानमा २–० ले स्तब्ध बनाउँदै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

सेभियाका लागि खेलको २१औं मिनेटमा रियल मेड्रिडबाट लोनमा खेलिरहेका सर्जियो रेगुइलियोनले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि ४४औं मिनेटमा सेभियाका लागि युसुफले गोल गरेपछि सेभिया पहिलो हाफमा २–० ले अघि रह्यो । त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नभएपछि सेभिया विजयी बन्यो ।

त्यस्तै, स्वीट्जरल्याण्डको एफसी बसेल र जर्मन क्लब बायर लिभरकुसनले पनि युरोपा लिगको प्रि–क्वारटफाइनलको दोस्रो लेगमा जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएका छन् । एफसी बसेलले जर्मन क्लब आइनट्राख्ट फ्रान्कफर्टलाई १–० ले तथा समग्रमा ४–० को जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । बसेलको जितमा अन्तिम दुई मिनेट बाँकी रहँदा फावियन फेरीले गरेको गोल नै निर्णायक बनेको थियो ।

अब बसेलले सेमिफाइनल प्रवेशका लागि युक्रेनी क्लब साख्तर डोनेस्कसँग खेल्ने छ । त्यस्तै, जर्मन क्लब बायर लिभरकुसनले स्कटिस क्लब रेन्जर्सलाई दोस्रो लेगमा १–० ले तथा समग्रमा ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

पहिलो लेगमा लिभरकुसन ३–१ गोलअन्तरकोे विजयी बनेको थियो । लिभरकुसनलाई जिताउन मोउसा डियावीले गरेको गोल नै निर्णायक बन्यो । डियावीले ५१औं मिनेटमा गोल गरेका थिए । लिभरकुसनले सेमिफाइनल प्रवेशका लागि इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, ग्रीसको अोलम्पियाकोसलाई समग्रमा २–१ ले पराजित गर्दै उल्भ्सले पनि क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । बिहिबार भएको दोस्रो लेगको खेलमा अोलम्पियाकोसलाई १–० ले हराएपछि उल्भ्सले समग्रमा २–१ ले जित दर्ता गरेको हो । उल्भ्सको जितमा खेलको आठौं मिनेटमा जिमिनेजले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्