नेमार सर्वश्रेष्ठ लयमा



पेरिस, (एजेन्सी)
पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेमार वर्तमान करियरमा सबैभन्दा सर्वश्रेष्ठ लयमा रहेका छन्। २ सय मिलियन पाउन्डमा पीएसजीमा अनुबन्ध भएका नेमारको करियर चोट र विवादमै रहेको छ।

उनले पीएसजीको वेबसाइटमा भनेका छन्– ‘यी तीन वर्षको दौरानमा मैले धेरै ज्ञान प्राप्त गरेँ। म सुखद क्षणहरू र कठिन परिस्थितिबाट गुज्रिएको छु। विशेषगरी जब चोटले मलाई खेल्न अनुमति दिएको थिएन।’

नेमारले भने– ‘मेरा साथीहरूको सहयोगले मैले कठिन परिस्थितिबाट पार पाएँ। वास्तवमा मेरो र क्लबको लक्ष्य च्याम्पियन्स लिगको उपाधि खडेरी समाप्त गर्नु पनि थियो।’

ब्राजिली स्ट्राइकर नेमारले फ्रेन्च लिग वान क्लब पीएसजी पुगेदेखि करियर राम्रो भएको बताएका थिए। उनले भनेका थिए– ‘हाम्रा प्रशंसक, क्लब र सबै प्रशंसकले हाम्रो टोलीको लडाइँलाई कुनै पनि खेलमा देख्न सकिन्छ। जब म पेरिसमा पुगेँ त्यो बेलादेखि म सर्वश्रेष्ठ लयमा रहेको छु। हाम्रो टोली एक परिवारजस्तै हो। हामी च्याम्पियन्स लिग जित्न चाहन्छौं र हामी संघर्ष गर्छौं किनभने हामी यति निकट कहिल्यै आएका थिएनौं।’

नेमार तीन वर्षअघि ला लिगा क्लब बार्सिलोनाबाट पीएसजीमा अनुबन्ध भएका थिए। उनको टोली पीएसजीले यस सिजनमा तीन वटा उपाधि जितेको छ। तर, नेमारलाई बार्सिलोनाले फर्काउन पनि प्रयास गरिरहेको छ। हालसम्म पीएसजी र बार्सिलोनाबीच उनको विषयमा कुनै छिनोफानो भएको छैन।

प्रतिक्रिया दिनुहोस्