नेपाली कांग्रेसद्वारा साग स्वर्ण विजेतालाई सम्मान



नेपाल समाचारपत्र, काठमाडौं
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ। १३ औं सागमा नेपालले व्यक्तिगत र टिम स्पर्धामा गरी विभिन्न १३ खेलमा एतिहासिक ५१ स्वर्ण जितेको थियो। ५१ स्वर्णसहित ६० र ९६ कांस्य जित्दै ७ राष्ट्र सहभागी १३औं सागमा नेपालले दोस्रो स्थान हासिल गरेको थियो। १३औं सागमा नेपालले हासिल गरेको उपलिब्ध सागकै इतिहासमा हालसम्मकै उत्कृष्ट हो। नेपालमै सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदमा पनि नेपाल दोस्रो भएको थियो। त्यतिखेर नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो।

साउन ६ गते विभागले आफ्नो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा १३औं साग स्वर्ण विजेतालाई १० दिनभित्र नगदसहित सम्मान गर्ने घोषणा गरेको थियो। त्यतिबेला व्यक्तिगत स्पर्धाका विजेतालाई सम्मान गर्ने घोषणा गरे पनि टिम स्पर्धाका स्वर्णधारीलाई पनि सम्मान गर्ने विषयमा छलफल गरी निर्णय लिने विभागका प्रमुख मोहनबहादुर बस्नेतले प्रतिबद्धता जनाएका थिए। सोही अनुरूप एकल र टिम स्पर्धाका स्वर्ण विजेतालाई सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शुक्रबार सम्मान गरिएको हो।

एक स्वर्ण विजेतालाई १० हजार, दोहोरो स्वर्ण प्राप्त गर्नेलाई १५ हजार र चार स्वर्ण जित्नेलाई २५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरिएको हो। दोहोरो स्वर्ण जित्नेमा गल्फका सुवास तामाङ, तेक्वान्दोकी आयशा शाक्य र करातेका मन्डेकाजी श्रेष्ठ रहेका छन्। पौडीकी गौरीका सिंहले ४ स्वर्ण जितेकी थिइन्।

व्यक्तिगत स्पर्धा र टिम स्पर्धाका स्वर्ण विजेतालाई समान स्वरूप १०/१० हजार नगद पुरस्कार प्रदान गरिएको थियो। गौरीका लन्डनमा रहेकाले उनको पुरस्कार भने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले ग्रहण गरे। कार्यक्रममा उपस्थित हुन नसकेका खेलाडीको पुरस्कार सम्बन्धित खेलाडीसम्म पु¥याउने व्यवस्था मिलाउने विभागले जनाएको छ।
नेपाल कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले खेलाडीलाई एक कार्यक्रमबीच पुरस्कृत गरेका हुन्। सो अवसरमा देउवाले १३औं सागमा उत्कृष्ट प्रदर्शन गरी नेपालको छवि अन्तर्राष्ट्रिय जगत्मा उच्च बनाएकोमा खेलाडीको प्रशंसा गरे।
विभाग प्रमुख बस्नेतले रजत र कांस्य विजेतास“गै प्रशिक्षकलाई पनि क्रमैसँग सम्मान गर्ने प्रतिबद्धता जनाउँदै ओलम्पिकमा सहभागी हुने खेलाडी र प्रशिक्षकको नामावली पाए १० दिनभित्र उनीहरूको कोरोना बीमा गर्न विभाग तयार रहेको बताए।
राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले हरेक राजनीतिक पार्टीले खेलकुदलाई महत्व दिने हो भने नेपाली खेलकुदलाई अझ उचाइमा पु¥याउन सहज हुने बताउँदै खेलाडीलाई सम्मान गरेकोमा विभागलाई धन्यवाद दिए।

 

प्रतिक्रिया दिनुहोस्