युलेन्सको क्रुरता: शुल्क नतिर्ने विद्यार्थीको अनलाईन कक्षा ब्लक



न्युज अफ नेपाल, ललितपुर ।
खुमलटार स्थित युलेन्स स्कुलले तीन महिनाको मासिक शुल्क नतिरेको भन्दै अनलाईन कक्षा बन्द गरिदिएको छ । विद्यार्थीको पढ्न पाउने अधिकारमाथि क्रुर व्यवहार देखाउँदै शुल्क नतिर्ने विद्यार्थीलाई छानीछानी अनलाईन कक्षा बन्द गरेको छ । कक्षा बन्द गरेर शुल्क तिर्न बाध्य बनाउने रणनीति लिएको सो विद्यालयले यसअघि मनपरी शिर्षक राखेर बिल पठाएको थियो ।

अहिले अभिभावकलाई तनाब दिने अनलाईन कक्षा नै बन्द गरेको छ । हाम्रै बच्चाको काधमा बन्दुक राखेर हामीलाई गोली हान्ने काम भएको छ–विद्यालयको क्रुरातापुर्ण व्यवहार प्रति आक्रोश व्यक्त गर्दै अभिभावकले गुनासो गरे । उनीहरुले विद्यालयको यो ब्यवहार विरुद्ध कानुनी उपचार खोज्ने भएका छन् । विद्यालयले शुल्क नतिर्ने विद्यार्थीको आइतबारदेखि कक्षा बन्द गरेको हो ।

हामीसंग सल्लाह नै नगरी एक्कासि अनलाईन कक्षा बन्द गर्नु क्रुरताको परकाष्ठा हो–ती अभिभावकले भने । सरकारले शुल्क नतिर्नु भनिरहेको अवस्था भएपनि शिक्षकको ब्यस्तता बुझेर केही शुल्क तिर्ने तयारीमा थियौ, एकाएक अनलाईन कक्षा बन्द गरेर वालबच्चाले पढ्न पाउने अधिकारको गम्भीर हनन गरेको छ –ती अभिभावकले भने ।

विद्यार्थीमाथि गरेको व्यवहारको भत्र्सना गर्दै अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले तत्काल रोकाइएको अनलाईन कक्षा तत्काल खोल्न माग गर्नुभएको छ ।

लगत्तै उहाले ललितपुर महानगरपालिकाका शिक्षा विभाग प्रमुख महेन्द्र क्षेत्री , मेयर चिरिवावु महर्जन र उपमेयर गिता सत्याललाई फोन गरी तत्काल कारबाही गर्न माग गर्नुभएको थियो । लगत्तै विभागका प्रमुख क्षेत्री विद्यालयमा पुग्नुभएको थियो । उहाले भोलीबाट कक्षा सञ्चालन नगरे कारबाही प्रकृया अघि बढाउने जानकारी विद्यालयलाई दिनुभएको छ ।

शिक्षा विभाग प्रमुख क्षेत्री सहितको टोली विद्यालय पुगेर प्रिन्सिपल मेदिन लामिछानेलाई मोबाइल गर्दा फोन स्वीच अफ गरेको पाइएपछि विभागले तत्काल कक्षा सञ्चालन गरी महानगरपालिकालाई जानकारी दिन आग्रह निर्देशन दिनुभएको थियो ।

अति भयो प्रिन्सिपलको फोन उठ्दैन, विद्यालयमा गयो सम्पर्क हुन सक्दैन, भोलीसम्म कुनै जानकारी नआए कारबाही प्रकृया अघि बढाउन बाध्य हुनेछौ–शिक्षा विभाग प्रमुख क्षेत्रीले नेपाल समाचारपत्रसंग भन्नुभयो ।

उहाले आज बुधबारदेखि अनलाईन कक्षा नखोले तत्काल कारबाही थालिने बताउनुभयो । अभिभावक महासंघका अध्यक्ष भण्डारीसंग कुराकानीको क्रममा मेयर महर्जनले विद्यार्थीको पढन पाउने अधिकारमाथि बन्देज लगाउने विद्यालयमाथि कारबाही गर्ने जानकारी दिनुभएको बताउनुभयो ।

युलेन्सले मासिक करिब २६ हजारको दरले ३ महिनाको शुल्क माग गरेको छ । विद्यालयले शुल्क नतिर्ने अभिभावलाई छानेरै कारबाही गरेको देखिएको छ । विद्यालयले करिब ४० प्रतिशत विद्यार्थीको अनलाईन कक्षामा रोक लगाएको अभिभावकको भनाई छ ।

विद्यालयले पठाएको म्यासेजमा ६० प्रतिशतले शुल्क तिरेको र तपाईहरुले तत्काल शुल्क बुझाउनुपर्ने भन्दै उर्दी जारी गरेको छ । सो विषयमा जानकारी लिन खोज्दा प्रिन्सिपल लामिछानेले मोबाइल उठाउनुभएन ।

प्रतिक्रिया दिनुहोस्