बार्सिलोनाको प्रभावशाली जित



न्युज अफ नेपाल, काठमाडौँ ।

स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको बार्सिलोनाले लिगको ३४औं खेलमा प्रभावशाली जित निकालेको छ ।

नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा बार्सिलोनाले भिया रियललाई उसैको मैदानमा ४/१ गोलअन्तरले ले स्तब्ध बनायो । यससँगै भिया रियलले कोरोना भाइरसपछि लिग सुचारु भएयता पहिलोपटक हार व्यहोरेको छ । भिया रियल यसअघिका ५ खेलमा अपराजित थियो ।

यता, लगातार बराबरी नतिजामा सिमित हुँदै आएको बार्सिलोनाले पनि यो खेल जितेर केही राहत पाएको छ । तर, अझै पनि उसलाई उपाधि होडमा फर्किन कठिन छ । किनभने, लिगमा अन्तिम चार खेल बाँकी छँदा बार्सिलोना अझै लिग लिडर रियल मड्रिडभन्दा ४ अंकले पछि छ । रियल उपाधि नजिक पुगिसकेको छ ।

भिया रियलको मैदानमा बार्सिलोनालाई जिताउनेक्रममा फरवार्डद्वत्रय लुइस स्वारेज, एन्टोनी ग्रीजम्यान अन्सु फातीले १–१ दर्शनीय गोल गरे । स्वारेज र ग्रीजम्यान दुवैको गोलमा कप्तान लिओनल मेसीले असिस्ट प्रदान गरे । बार्सिलोनाले १ गोल भने उपहारमा पाएको थियो ।

जितपछि बार्सिलोनाले ३४ खेलबाट ७३ अंक जोडेको छ । बार्सिलोना समान खेल खेलेको शीर्ष स्थानको रियलभन्दा ४ अंकले पछि छ । पराजित भिया रियल ५४ अंकसहित पाँचौं स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्