ललितपुर महानगरपालिकाको नगरसभा स्थगित



ललितपुर, (नेस)

वडा सदस्यहरुले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे समीक्षा गर्नुपर्ने धारणा राखेलगत्तै बुधबार ललितपुर महानगरपालिकाको नगरसभा स्थगित गरिएको छ ।

शंखमूलस्थित यल दरबारमा भएको पाँचांै नगरसभाको बन्दसत्रको शुरुमा महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रमबारे बोल्न वडा सदस्यहरुलाई आग्रह गर्नुभयो । तर सभामा बोल्ने सबै वडा सदस्यले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमको समीक्षा नगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफल गर्न उचित नहुने मत राखेका थिए ।

वडा र नगरपालिकाको नीति योजना र कार्यक्रम तय गर्न वडा सदस्यहरुको कुनै भूमिका नभएको भन्दै नगरसभामै चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम समीक्षा गर्नुपर्ने उनीहरुको धारणा रहेको थियो । ‘विगतको समीक्षा नगरी, भविष्यको नीतिबारे कसरी बोल्ने, शुरुमा चालू योजनाको समीक्षा गरौं । त्यसमा भएका कमीकमजोरी सच्याएर आगामी आर्थिक वर्षको नीति र कार्यक्रमको छलफल गरौं ।’ सभामा बोल्ने अधिकांश सदस्यको माग थियो ।

यसरी बोल्ने वडा सदस्यहरुमा ललितपुर महानगरपालिका वडा ५ का सदस्य शोभा श्रेष्ठ, वडा नम्बर ६ का राजीव श्रेष्ठ, वडा नं. २२ का सागर तुलाधर, वडा नं. २४ का वडा अध्यक्ष दिनेशजंग पाण्डे रहनुभएको छ ।

महानगरपालिकको नीति, योजना र कार्यक्रम तर्जुमा गर्ने कार्यमा वडा सदस्यहरुको कुनै अधिकार नभएको भन्दै नगरसभामा नबोलेपछि कहिले कहाँ बोल्ने भन्ने प्रश्न पनि उनीहरुको थियो । त्यसपछि थप तयारी गर्नुपर्ने भन्दै नगरसभाका सभाअध्यक्ष एवं महानगरपालिकाका मेयर महर्जनले असार २१ गते आइतबारसम्मका लागि बैठक स्थगित गरेको निर्णय सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्