वन उपभोक्ता समिति नै काठ तस्करीमा



अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–६ टक्सारस्थित सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरु नै काठ तस्करीमा संलग्न रहेको भेटिएको छ । स्थानीय कल्पना डाँडापारि सामुदायिक वनबाट काठ तस्करी गरेका व्यक्ति पक्राउ परेपछि उनीहरुको संलग्नता रहेको पुष्टि भएको हो ।

सामुदायिक वनबाट काठ तस्करी गर्दै अवध रुपमा तनहुँ र कास्कीतर्फ लैजाने क्रममा टक्सार कोपानीबाट लेखनाथ च्वाईंसमेत २ जनालाई पक्राउ गरेपछि समितिको संलग्नता खुलेको हो । डिभिजन वन कार्यालयले पक्राउ परेकासँग अनुसन्धान गरेपछि काठ तस्करीमा संलग्नलाई पक्राउ गरी मुद्दा दायर गरिएको छ ।

सामुदायिक वनका अध्यक्ष पदमबहादुर बोहोरा, उपाध्यक्ष अञ्जना सुवेदी, सचिव नेत्रबहादुर कार्की र कोषाध्यक्ष शोभा कार्कीसमेत समितिका अन्य सदस्य गरी १२ जनाविरुद्ध जिल्ला अदालत स्याङ्जामा मुद्दा दायर गरिएको डिभिजन वन कार्यालय स्याङ्जाले जनाएको छ ।

वन ऐन, २०७६ को दफा ४९ को (च) बमोजिम राष्ट्रिय वन क्षेत्रबाट वन पैदावार चोरी निकासी कसुरबमोजिमको मुद्दा दायर गरिएको डिभिजन वन कार्यालयबाट खटिएका अनुुसन्धान अधिकृत राजेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । दायर गरिएको मुद्दामा उनीहरुलाई ६ महिना कैद र पक्राउ परेको काठको बिगो बराबरको प्रतिव्यक्ति ५८ हजार रुपियाँ जरिवाना माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले लेखनाथ च्वाईको ट्याक्टरमा काठ अवैध रुपमा निकासी गरेको भेटेपछि उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका च्वाईंसँग साल जातको ३१ थान चिरान फेला परेको थियो । च्वाईंसँग वन कार्यालयले गरेको अनुसन्धानपछि जिल्लामै पहिलोपटक वन उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरुको काठ चोरीपैठारीमा संलग्नता भेटिएको हो ।

पक्राउ परेका समितिका पदाधिकारी र सदस्यहरु विगत लामो समयदेखि वन पैदावारको चोरी पैठारीमा संलग्न रहेको बताइएको छ । उनीहरुले वन पैदावारको नियमित अवैध पैठारी गर्दै आएको स्थानीयले बताएका छन् ।
उक्त वनबाट स्याङ्जातर्फको तुलनामा कास्की र तनहुँतर्फ चोरी पैठारी गर्न भौगोलिक बनावटले सहज देखिन्छ । प्रहरीले केही दिन अगाडि चापाकोटमा पनि काठ तस्करी गर्नेलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्