पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने पक्राउ



न्युज अफ नेपाल, भक्तपुर ।
पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने व्यक्ति पक्राउ परेको छ । उक्त विस्फोटका मुख्य योजनाकार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भक्तपुर जिल्लाका सेक्रेटरी विजय भनिने ऐनबहादुर शाहीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरले बम विस्फोटपछि फरार रहँदै आएका शाहीलाई विशेष सूचनाको आधारमा असार १५ गते ललितपुरबाट पक्राउ गरिएको जनाएको छ ।

शाहीलाई घटना भएको करिब तीन महिनापछि सोमबार प्रहरीले पक्राउ गरेको हो । उनलाई मंगलबार जिल्ला अदालत भक्तपुरमा पेस गरिएको थियो । अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको भक्तपुर प्रहरीले जनाएको छ ।

उक्त बम विस्फोटमा संलग्न भएको आरोपमा भक्तपुर प्रहरीले यसअघि नै चारजनालाई पक्रा गरिसकेको छ । गएको फागुन २८ गते बिहान पूर्वमन्त्री बाँस्कोटाको निर्माणाधिन साढे तीन तले घरको दक्षिण पूर्वी वाल कम्पाउण्डमा बम विस्फोट गराइएको थियो ।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले अभिषेक भन्ने कबहादुर बीक, अमृतबहादुर कुमाल, लक्ष्मण सेठी र देवीबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो ।

उनीमाथि अनुसन्धानपश्चात जिल्ला अदालत भक्तपुरले गएको चैत ३० गते देवीबहादुरलाई साधारण तारेखमा छोडेको थियो । बाँकी ३ जनालाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्