प्रहरी–पत्रकारको अन्तरक्रिया



नेपाल समाचारपत्र, भक्तपुर

महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरका पत्रकारसँगको अन्तरक्रिया कार्यक्रमक गरेको छ । परिसरका प्रमुखका रूपमा हालै कार्यभार सम्हाल्नु भएका प्रहरी उपरीक्षक तारादेवी थापासँगको परिचायात्मक कार्यक्रममा उहाँले प्रहरी र पत्रकार साझेदारीबाट जिल्लाको शान्ति सुरक्षा चुस्त बनाउने सकिने बताउनुभयो ।

प्रहरी पत्रकार साझेदारीबाट शान्ति सुरक्षा चुस्त बनाउन सकिने अपेक्षा गर्दै प्रहरी उपरीक्षक थापाले ठाउँअनुसार शान्ति सुरक्षाको चुनौती र रणनीति फरक–फरक हुने औंल्याउनुभयो ।

चेन अफ कमान्डमा प्रहरी प्रशासन चल्ने बताउँदै उहाँले जिल्लाको शान्ति सुरक्षाका गतिविधिमा थप सुधार हुने गरी आफूले काम गर्ने बताउनुभयो ।

नागरिकको शान्ति सुरक्षासँगै मौसमी विपद् र कोरोना भाइरसको रोकथाम एवं सचेतनामा पनि प्रहरी लागि रहेको उल्लेख गर्दै उहाँले यसमा प्रहरी थप सबल हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा जगाती प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले पूर्वतर्फबाट काठमाडौं आएका हजारौं यात्रु जगाती प्रहरी चेक पोस्टबाट फर्काउनुपर्दा दुःख लागेको बताउनुभयो ।

उहाँले सम्बन्धित जिल्लाबाटै लकडाउन उल्लंघन नहुने गरी रोक्न सके यात्रुले दुःख नपाउने तथा काठमाडांै सुरक्षित हुने विचार व्यक्त गर्नुभयो ।

थिमी वृत्तका प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले पत्रकारसँगको साझेदारीले शान्ति सुरक्षा प्रभावकारी बनाउन सकिने भएकाले त्यस्तो योजना बनाउन आवश्यक भएको बताउनुभयो ।

परिसरका प्रवक्ता दीपक गिरीले घटनाको विवरण तत्काल सम्प्रेषण गर्दा विस्तृत र सही जानकारी नजाने भएकाले थप अनुसन्धानपछि मात्रै समाचार सम्प्रेषण गर्दा ढिलो भए पनि सही समाचार सम्प्रेषण भइरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले भक्तपुरको हालको शान्ति सुरक्षा सन्तोषजनक नै रहे नयाँ एसपी थापाको नेतृत्वमा थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ भक्तपुरका इन्दुल केसी र कृष्ण किसीले प्रहरीले सम्प्रेषण गर्ने सूचना छिटो–छरितो हुनुपर्नेमा जोड दिनुभयो ।

प्रहरी उपरीक्षक थापाले असार ८ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भएर जिम्मेवारी सम्हाल्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्