पहिरोमा एक बेपत्ता, एकको उद्धार



जाजरकोट, (नेस)

जाजरकोट भेरी नगरपालिका–११ जगतीपुरका दुई वर्षीय एक बालक पहिरोमा परी बेपत्ता भएका छन् । भेरी नगरपालिका ११ जगतीपुरका गणेश वरका दुई वर्षीय छोरा पुष्कर वर पहिरोमा बेपत्ता भएका हुन् ।

आइतबार राति अविरल वर्षका कारण घर नजिकै आएको पहिरोमा परी बेपत्ता बालकलाई दिनभर खोज्दा पनि फेला पर्न सकेका छैन्न । गम्भीर घाइते गणेशलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी कोहलपुर मेडिकल कलेज लगिएको छ ।

घर नजिकैबाट पहिरो आउन थालेपछि गणेश वरको परिवार पशु चौपायाको उद्धार गर्न निस्केको समयमा बालक बेपत्ता भएका हुन् । पहिरो आएपछि चौपायकाको उद्धार गर्न श्रीमतीसहित बालक बाहिर निस्केका बेला आमाको काखमा थियो । ‘श्रीमान् पहिरोमा लडेपछि श्रीमान्लाई बचाउन खोज्दा छोरालाई पहिरोले कता लग्यो थाहा भएन ।’ –शिशुको आमाले भन्नुभयो ।

घर नजिकै खहरे खोलामा पहिरो मिसिएको हुँदा भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठले बताउनुभयो । स्थानीयवासी र प्रहरीले दिनभर खोज्दा पनि बेपत्ता बालकलाई भेटाउन नसकेको प्रहरी प्रमुख श्रेष्ठले वताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्